निर्जीवन बीमा कम्पनीले संकलन गरे २५ अर्ब ८७ करोड बीमाशुल्क



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ७ करोड ३३ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ७६ हजार ४५३ वटा बीमालेख जारी गरी उक्त रकमबराबरको व्यवसाय गरेका हुन् ।

जुन गत आवको सोही अवधिको तुलनामा २.२८ प्रतिशतले धेरै हो । गत आवको फागुनसम्ममा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँको कुल व्यवसाय गरेका थिए ।

कम्पनीहरुले सम्पत्ति, सामुद्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बीमा, लघुबीमा र विविध बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन् । कम्पनीहरुले फागुनमा मात्रै २ लाख ४० हजार १७० वटा बीमालेख जारी गरी २ अर्ब ८१ करोड रुपैयाँको कुल व्यवसाय गरेका छन् ।

फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखरले धेरै प्रिमियम संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणले जनाएको छ ।

कम्पनीको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले बढेको हो । गत आवको फागुनसम्ममा शिखरले ३ अर्ब १० करोड रुपैयाँको कुल व्यवसाय गरेको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा परेका छन् ।

यस अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ९७ करोड ६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९१ करोड २३ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ८० करोड ९५ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ४० प्रतिशतले बढ्यो

गत आवको सोही अवधिमा राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ४०.०९ प्रतिशतले बढेको छ । कम्पनीले फागुन महिनासम्ममा १ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा अजोड इन्स्योरेन्सको व्यवसाय १५.६२ प्रतिशतले बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यस्तै, सानिमा जिआईसीको व्यवसाय १३.२९ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सको ११.२९ प्रतिशतले बढेर ६४ करोड रुपैयाँ, आईएमई जनरलको ९.९८ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

प्रभु इन्स्योरेन्सले यस अवधिमा १ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको व्यवसाय गत आवको सोही अवधिको तुलनामा २.५९ प्रतिशतले बढेको हो । प्रुडेन्सियल इन्स्योरेन्सले यस अवधिमा ९ करोड रुपैयाँ, ओरियन्टलले ९३ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको तुलनामा प्रभुको व्यवसाय २.५९ प्रतिशत, प्रुडेन्सियलको १.२७ प्रतिशत, ओरियन्टलको १.१० प्रतिशत र एनएलजीको ०.६७ प्रतिशतले बढेको हो ।

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १२ करोड २४ लाख रुपैयाँ र सगरमाथा लुम्बिनीले २ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सिद्धार्थ र प्रिमयिरले फागुन १७ गतेदेखि मर्जरपश्चात सिद्धार्थ प्रिमियरको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

यस्तै, सगरमाथा र लुम्बिनी जनरलले फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनीको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।


क्लिकमान्डु