बैंकको ऋण तिर्दिन भन्न पाइँदैन, ब्याजदरको समस्या समाधान गर्छौं: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बैंकबाट लिएको ऋण फिर्ता गर्दिन भन्न नपाइने बताएका छन् । ब्याजदरको समस्या समाधान गर्न सरकार लागिरहेको भन्दै अर्थमन्त्री महतले लिएको ऋण तिर्दिन भनेर भन्न नमिल्ने बताएका हुन् ।
सोमबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधरण सभामा महतले भने, ‘ऋण लिएका छन् । तिर्नुपर्दैन भन्ने अभियान चलाएका छन् । त्यसलाई राज्यले सहन सक्दैन् । ब्याजदरको समस्या छ भने, समयमा नै ऋण फिर्ता गर्न समस्या पर्यो भने त्यसमा हामीले राहत दिनुपर्छ । तर, ऋण लिएको छु म फिर्ता गर्दिन भन्न कसैले पाउँदैन ।’
ब्याजदरका समस्या समाधानका लागि आफूहरुले राष्ट्र बैंकसँग कुरा गरेको उनले बताए ।
‘पछिल्लो समय बैंकको ब्याज बढेको, डिपोजिट रेट पनि बढेको छ, त्यसमा राष्ट बैंकको पोलिसी रेट बढेको छ । पहिला जे अपेक्षाले ऋण लिएका थिए, अहिले ब्याज बढेको छ । त्यसले रेट अफ रिटर्न, ऋण फिर्तागर्ने विषयमा समस्या आएको छ । यो विषय सम्बोधन गर्न राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको छ ।’
अर्थमन्त्री महतले अहिले राजस्व लक्ष्यभन्दा निकै कम उठेको उनले बताए । गत वर्षकोभन्दा २८ प्रतिशतले राजस्व घटेको र साधारण खर्चमा तलमाथि गर्न सक्ने सम्भावना कम रहेको उनले बताए । अब साधारणखर्च घटाएर पुँजीगत खर्च प्रभावकारी रुपमा गर्ने उनको भनाइ छ ।
अर्थमन्त्री महतले निजी क्षत्रको समस्या राज्यको समस्या भएको बताए । लगानी नबढे आर्थिक विकास नहुने भन्दै उनले रोजगारी नबढ्ने र त्यो नबढे राजस्व नबढ्ने बताए । राजस्व नबढे लगानी गर्न नसकिने उनको भनाइ छ ।
‘आर्थिक विकासको आधार नै निजी क्षेत्र हो । निजी क्षेत्रको समस्या समाधान गर्छौं, निरास हुनु पर्ने अवस्था छैन’ उनले भने ।