बालेनलाई गृहमन्त्री नारायणकाजीको जवाफ: बल प्रयोग गर्न अनुरोध गर्ने जानकारी मात्र दिएर हुँदैन, औचित्य पुष्टि हुनुपर्‍यो



चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

सोमबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले कुनै पनि कामका लागि समन्वय हुन औचित्य पुष्टि हुने गरी तथ्यसंगत हुनु पर्ने बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानी सरकारलाई सहयोग र समन्वय नगरेको आरोप लगाइरहँदा उपप्रधान मन्त्री श्रेष्ठले समन्वय गर्न प्रक्रियागत रूपमा आउनुपर्ने बताएका हुन् ।

‘स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर त हुँदैन । यसबारे महानगरका मेयरलाई प्रष्ट भनेको छु,’ श्रेष्ठले भने, ‘तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी अलिकति निष्कर्षमा त पुग्न पर्‍यो नि । तपाईं आफैँले मात्र गर्न सक्ने काम छ भने हस्तक्षेप गर्दैनौं । तर संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए त प्रक्रियागत रूपमा अघि बढ्नुपर्छ ।’

मेयर शाहले आफूले संघीय सरकारलाई ९ महिना कुर्दा पनि सहयोग नपाएको भन्दै १४ उदाहारण सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु