विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी, ६ जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमा रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न रहेको आरोपमा उनीहरुलाई सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमा बापत पाउने रकम मृतकका आफन्तहरुलाई केही मात्रै दिइ अन्य रकम आफूले नै ठग्ने गिरोहका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोजकुमार केसीले बताए ।

पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरुको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरुसहित फेला पारी निजहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।

पक्राउ पर्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नम्ब १२ का वर्ष ४१ रामबहादुर तामाङ, सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ८ का वर्ष ३४ का विनोदकुमार लामा, सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ कै वर्ष ४० का डिकबहादुर मल्ल, ३५ वर्षका सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ८ कै रविन्द्र मोक्तान, सोही स्थानका ३५ वर्षका प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर २ का ३९ वर्षीय रुद्रमान गोले रहेको केसीले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतकको बीमा रकम ठगी गर्न गिरोह नै रहेको र उनीहरुले मृतकका परिवारलाई वासस्थानमा नै गइ भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताए ।

उनीहरुले मृतकको शव आइसकेपछि उनीहरुका परिवारलाई काठमाडौं बीमाको रकम लिन बोलाउने र कोठामा थुनि आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको उनको भनाइ छ । गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको उनको भनाइ छ ।


क्लिकमान्डु