मन्त्री फेरिएसँगै अर्थमन्त्रालयमा बराल, खत्री र सुवेदीको इन्ट्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले आफू अनुकुल टिम बनाउन सुरु गरेका छन् । पछिल्लो केही वर्षयता मन्त्री फेरिए लगत्तै आफू अनुकुलको नयाँ सचिव र सहसचिवको टिम बनाउने गरिएको छ ।

आगामी साता विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थसचिव तोयम राया अमेरिका जाने भएकाले तत्कालै अर्थसचिव परिवर्तन हुने सम्भावना छैन ।

बजेट लेखन सम्बन्धी काम गर्नु पर्ने चाप भएको भन्दै मन्त्री महतले आफू अनुकुलका केही सहसचिवलाई मन्त्रालय ल्याएका छन्।

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका भुपाल बराल र श्रम तथा रोजगार मन्त्रालयका रहेका उत्तरबहादुर खत्रीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

बराल र खत्रीसँग अर्थ मन्त्रालयमा काम गरेको लामो अनुभव छ ।

बराल र खत्री दुबै कांग्रेस निकट कर्मचारीको रुपमा पनि चिनिने गर्छन् । बुधबार बाबुराम सुवेदीको पनि अर्थ मन्त्रालयमा सरुवा भएको स्रोतले जनाएको छ । सुवेदी पनि कांग्रेस निकट कर्मचारी हुन् ।

विष्णुप्रसाद पौडेल मन्त्री भएपछि गत पुसमा बराल अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा भएका थिए । खत्री भने ४ वर्षपछि अर्थ मन्त्रालयमा फर्किन लागेका हुन् । युवराज खतिवडा मन्त्री हुँदा खत्री अर्थबाट बाहिरिएका थिए ।

स्रोतका अनुसार मन्त्री महतले खत्री वा बराल मध्ये एक जनालाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिने तयारी गरेका छन् ।

बरालले राजनीतिक नेतृत्वसँग बजेटभन्दा पनि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा काम गर्ने इच्छा व्यक्त गरेका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदा बरालले बजेट महाशाखामा काम गरेका थिए ।

तत्कालीन अर्थमन्त्री पौडलले बजेट महाशाखाको जिम्मेवारी धनीराम शर्मालाई दिएका थिए । पौडलले मन्त्री भएपछि एकै पटक ५ जना सहसचिवलाई अर्थ मन्त्रालयमा ल्याएका थिए ।

पौडलले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपाललाई दिएका थिए ।

यसपटक अर्थबाट बाहिरिने सहसचिव को-को हुन् भन्ने विषयमा टुंगो लागेको छैन । स्रोतका अनुसार पौडलले अर्थ मन्त्रालयमा ल्याएका शर्मा बाहेकका अन्य सहसचिव सरुवाको सूचीमा छन् ।

मन्त्री महत बजेट बनाउँदासम्म ठूलो संख्यामा कर्मचारी सरुवा गर्ने पक्षमा नरहेको उनी निकट एक अधिकारी बताउँछन्।


क्लिकमान्डु