व्यवसायीको गुनासोः बैंकहरुले बढी लिएको ब्याज अझसम्म फिर्ता गरेनन्



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल बैंकर्स संघबीच बैंकिङ र व्यवसायिक क्षेत्रका चासोका विषयमा छलफल भएको छ ।

छलफलमा निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बैंक र व्यवसायी एकअर्काका परिपूरक भएको बताउँदै सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष सेठियाले व्यवसायीका चासोका विषयहरु राखे । उनले कतिपय बैंकहरुले बढी लिएको ब्याज अझसम्म फिर्ता नगरेको गुनासो गरे । उनले चालू पुँजी कर्जाका व्यावहारिक कठिनाई समाधानका लागि पहल गर्न पनि बैंकर्स संघलाई आग्रह गरे ।

कार्यक्रमका बैंकले लिने चार्जका विषय पनि उठाएका थिए । ठूला व्यवसायीले सौदावाजी गरेर कुनै चार्ज नतिर्ने तर सौदावाजी गर्न नसक्ने मझौला र साना व्यवसायीले भने चार्ज तिरिरहेको व्यवसायीको गुनासो छ ।

अध्यक्ष सेठियाले भारतीय मुद्रामा व्यापार बढाउनुपर्ने आवश्यकता औंल्याउँदै बैंक ग्यारेन्टीको मिति तोक्नुपर्नेमा पनि जोड दिए । चालुपुँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसायका आकारअनुसार फरक प्रावधान राखे पनि बैंकहरुले सबैलाई एउटै भन्ने गरेको गुनासो व्यवसायीबाट आइरहेको बैंकर्स संघका अध्यक्षलाई जानकारी गराएका छन् ।

भेटमा व्यवसायीले मार्जिन कल, कोल्याटरल, चेक बाउन्स, कालोसूची, एलसी कमिसनलगायतका विषय उठाएको जनाइएको छ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली अर्थतन्त्रको संरचनागत समस्याले गर्दा एकातिर सुधार्न खोज्दा अर्कोतिर बिग्रने स्थिति रहेको भन्दै संरचनागत परिवर्तनको आवश्यकता औंल्याए ।

अहिलेको अवस्थामा तत्कालै ब्याजदर घट्न सक्ने सम्भावना नरहे पनि स्प्रेड रेटका कारण थोरै घट्न सक्ने पनि उनले बताए ।
तरलताको समस्या समाधान हुन प्रत्यक्ष विदेशी लगानी आउनुपर्ने उनले बताए । कर्पोरेट क्षेत्रले विदेशबाट रकम ल्याउन सकेको खण्डमा पनि समस्या समाधानमा बल पुग्ने अध्यक्ष केसीको भनाइ छ ।

संघको तर्फबाट सम्भव हुने विषयमा तत्काल सम्बोधनको प्रयास गरिने र व्यवसायीका चासोका विषयको सन्देश नियामक निकाय नेपाल राष्ट्र« बैंकसम्म पु¥याउने र समाधानका लागि पहल गर्ने पनि उनले बताए ।


क्लिकमान्डु