बैंकिङ कसुरका आरोपी थापाको फिल्म ‘प्रसाद २’ रोक्न उच्च अदालत पाटनको आदेश



काठमाडौं । चैत २४ मा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिँदै फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

अधिवक्ता केशव पाण्डेले दर्ता गराएको बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिँदै फिल्मको तत्काल प्रदर्शनमा रोक लगाएको हो । फिल्मका निर्माता थापाविरुद्ध पाण्डेले आफ्नो रकम नदिएको भन्दै मुद्दा दायर गरेका थिए ।

थापाविरुद्ध पाण्डेले आर्थिक लेनदेन र बैंकिङ कसुर गरेको भन्दै मुद्दा दर्ता गराएका थिए, जसपश्चात प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको छ । अदालतले थप सुनुवाइका लागि २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ ।

पाण्डे यसअघि ‘प्रसाद २’ को निर्माताका रुपमा चिनाइएका थिए । तर, हाल फिल्मको प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा होस् वा अन्य स्थानमा पनि उनी निर्माताको रुपमा रहेको विषयवस्तु समेटिएको छैन ।


क्लिकमान्डु