मल कहिले आउँछ सरकारलाई थाहा हुँदैन: कृषिमन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन् ।
रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उनले तर कहिले आयात हुन्छ भन्न सकिने अवस्था नरहेको लाचार अभिव्यक्ति दिएका हुन् ।
अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले मत आयात निर्धारण हुने भएकाले आयात यति नै हुन्छ भन्न सक्ने अवस्थामा सरकार नरहेको मन्त्री भुसालको भनाइ छ ।
मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यो वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत काम सकिएको तर ल्याउने कुराको टुंगो भने नलागेको जानकारी गराए ।
मन्त्री भुसालले रासायनिक मलमा कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दुरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदलाई उनले आग्रह गरे ।
‘मैले चाहेका सुझाव अझै धेरै, अझ प्रस्ट र लिखित रुपमा पनि हो,’ उनले भने, ‘हामी अहिले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गर्ने प्रक्रियामा छौं, बजेट निर्माण प्रक्रियामा छौं । त्यो प्रक्रियामा जाँदा माननीयज्युहरुबाट सुझाव लिएर जाँदाखेरी अझै बढी लाभदायक होला भन्ने हिसाबले अनुरोध गरेको हुँ ।’
मन्त्री भुसालले सरकारले किसानको समस्या समाधानका निम्ति सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिबद्धता पनि पटक-पटक दोहोर्याए ।