बैंकको २ अर्ब ७५ करोड ऋण तिर्न पियुषबहादुर तयार, विदेशी भित्र्याएर बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालन गर्ने



काठमाडौं । दुई दशकदेखि बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालनमा आउने भएको छ । सञ्चालक पियुषबहादुर अमात्यले अन्तत: विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने भएका हुन् ।

अन्तर्राष्ट्रिय चेन होटल म्यारियट ग्रुपले फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउन लागेको हो ।

‘ऋण तिर्छुभन्दा पनि बैंकहरुले ढिलो गरेका कारण सोचेको गतिमा काम अघि बढिरहेको छैन,’ अमात्यले क्लिकमान्डुसँग भने, ‘बैंकहरुले सम्झौताअनुसार समयमा काम गरिरहेका छैनन् ।’

लामो समयदेखि रिसोर्ट बन्द हुँदा अमात्यले २०५२ सालमा नेपाल बैंकको कन्सोल्टियम लिडमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋणको साँवाब्याज तिर्न सकेका थिएनन् ।

नेपाल बैंकको नेतृत्वमा रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले पनि लगानी गरेका थिए । नेपाल बैंकले ६५ करोड र वाणिज्य बैंकले ३५ करोड रुपैयाँको ऋण लगानी गरेका थिए । बाँकी रकम सञ्चय कोषले लगानी गरेको थियो ।

बैंक र अमात्यबीच लामो समय विवाद भएको थियो । अमात्यले आफू अधिकतम् २ अर्ब रुपैयाँभन्दा बढी नतिर्ने बताउँदै आएका थिए भने बैंकले साँवाब्याज सबै तिर्नुपर्ने अडान राख्दै आएका थिए । उक्त विवाद सल्ट्याउन २०७६ सालमा ऋणको पुन:संरचना गरी साढे ३ अर्ब रुपैयाँ कायम गरिएको छ ।

लामो समयको विवाद अन्त्य गर्दै बैंक र रिसोर्टका सञ्चालक पियुषबहादुरबीच सम्झौता भएको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले जानकारी दिए ।

‘लामो समयको छलफलपछि पियुषजी २ अर्ब ७५ करोड रुपैयाँ तिर्न तयार हुनुभएको छ, सम्झौताअनुसार २०८० असार मसान्तभित्र बैंकले सम्पत्ति फुकुवा गर्छ,’ नेपाल बैंकका सीइओ कृष्णबहादुर अधिकारीले क्लिमान्डुसँग भने, ‘यो सम्झौतासँगै लामो समयदेखि खराब कर्जाका रुपमा रहेको हाम्रो कर्जा उठ्ने भएको छ ।’

सरकारी बैंकहरुले खराब कर्जा असुलीलाई उच्च प्राथमिकतामा राखेर काम गरेकाले यस्ता ऋण उठ्न थालेको राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बताए ।

‘हामी सकेसम्म ऋणीलाई उकास्ने रणनीति बनाएर खराब कर्जा असुलीमा लागेका छौं,’ श्रेष्ठले भने, ‘यही क्रममा लामो समयको विवाद अन्त्य गरी पियुसजीसँग सम्झौता गरेर अघि बढेका छौं । यो सम्झौतासँगै पियुसजीको सम्पत्ति पनि जोगिने र हाम्रो खराब स्थितिमा रहेको कर्जा पनि उठ्ने अवस्था सिर्जना भएको छ । यो निकै सुखद् पक्ष हो ।’

पियुसबहादुरले सिंगापुरको म्यारिएट डीबाट थप लगानी ल्याएका छन् । र, म्यारिएट डीले नै रिसोर्टको व्यवस्थापन सम्हाल्नेछ ।

‘रिसोर्टलाई पुन: व्यवस्थित ढंगले चलाउ सिंगापुरको म्यारिएटसँग सम्झौता गरिसकेको छु,’ अमात्यले भने, ‘बैंकले छिटो काम गरिदिए भने छिटो रिजल्ट निस्कन्छ । तर, बैंकहरु ऋण तिर्छु भन्दा पनि ल्याङगरिङ गरिरहेका छन् ।’

आफूहरुले अमात्यले आरोप लगाएजस्तो ल्याङगरिङ नगरेको दुबै बैंकका सीइओ बताउँछन् ।

‘व्यवस्थापन समितिबाट पियुसजीको ऋणका सन्दर्भमा पारित भइसकेको छ, हामीले आ-आफ्ना सञ्चालक समितिमा प्रस्तुत गरिसकेका छौं, सञ्चालक समितिले अनुमोदन गरेसँगै पियुसजीको समस्या सुल्झिन्छ,’ दुबै बैंकका सीईओले भने ।

यसबीचमा नेपाल बैंकको सञ्चालक समितिको बैठकमा फूलबारी रिसोर्टको फाइलका विषयमा दुईपटक छलफल भइसकेको छ । तर, टुंगो लागेको छैन ।

‘सञ्चालकज्यूहरुको व्यस्तताका कारण समयमा समितिको बैठक बस्न सकिरहेको छैन, बैठक बस्नासाथ पियुषजीको समस्या सल्टिन्छ,’ राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले भने ।

कसरी मिल्यो विवाद ?

लामो समयदेखि बैंक र रिसोर्ट सञ्चालक पियुषबहादुरबीच विवाद थियो । ऋण लगेदेखि पियुसबहादुरले केही करोडमात्रै तिरेका थिए ।

रिसोर्ट बन्द भएपछि उनले बैंकको साँवाब्याज तिरेनन् । बैंक र अमात्यबीच लामो समय छलफल र वार्ता पनि हुन सकेन । फलस्वरुप बैंकले कालोसूचीमा राख्यो ।

तर, २०६५ वैशाखमाअमात्यले जसरी पनि रिसोर्ट सञ्चालन गर्ने आश्वासन दिएपछि नेपाल बैंकले कालोसूचीबाट हटाउँदै सोही वर्षको जेठमा ऋण असुली न्यायाधीकरणबाट समेत मुद्दा फिर्ता लियो ।

तर, रिसोर्ट सञ्चालन हुन सकेन । अमात्यले ऋण सल्टाउन गरेको प्रयासले काम गरेन ।

त्यसको ६ वर्षपछि नेपाल बैंकले १५ दिने सूचना र २०७२ सालमा ३५ दिने सूचना प्रकाशित गर्‍यो । तर, अमात्यले ऋण तिर्न कुनै चासो देखाएनन् ।

‘यति ठूलो लगानी भएको रिसोर्ट ऋण तिर्न नसकेर बन्द होस् भन्ने हाम्रो चाहना होइन, यसले पर्यटन र रोजगारीमा ठूलो योगदान गर्न सक्ने भएकाले हामीले थप समय दिइरह्यौं,’ नेपाल बैंकका सीईओ अधिकारीले भने, ‘उहाँले त्यसको फाइदा लिइरहनुभयो ।’

उसो त अमात्यले २०७३ सालमा साँवा मात्रै बुझाउने प्रस्ताव पेस नगरेका होइनन् । रुग्ण उद्योगका रुपमा साँवाबापतको १ अर्ब ३१ करोड रुपैयाँ लिएर बैंकसमक्ष पुगेका अमात्यको प्रस्ताव बैंकका लागि स्वीकार्य हुने कुरै भएन । त्यसैले उनको त्यो प्रस्ताव त्यत्तिकै तुहियो ।

नेपाल बैंकले उक्त ऋणलाई २०७६ मा पुन: संरचना गर्‍यो । र, साँवा १ अर्ब ३१ करोड र साधारण ब्याज मात्रै २ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४७ करोड रुपैयाँ निस्कियो ।

त्यसपछि अमात्यले रिसोर्ट सञ्चालन गर्ने तर यसका लागि थप २५ करोड रुपैयाँ थप ऋण आवश्यक भएको प्रस्ताव बैंकसमक्ष पेस गरे । तर, अब भने अन्तर्राष्ट्रिय चेन होटल मेरियटले रिसोर्ट सञ्चालन गर्ने भन्ने प्रस्ताव पेस गरे ।

बैंकहरुलाई पनि लामो समयपछि समस्या समाधान हुन्छ र रिसोर्ट सञ्चालन हुन्छ भने किन नगर्ने भन्ने लाग्यो र थप केही समय दिने निर्णय गरे । अमात्यको भनाइअनुसार २०७७ वैशाखबाट मेरियटले रिसोर्ट सञ्चालन गरिसक्नुपर्ने थियो । थप २५ करोड लगानीमा ४० वटा कोठासहित रेस्टुँरा र अन्य अत्यावश्यक सेवा सुविधा सञ्चालन भइसक्नुपर्ने थियो तर भएन ।

लामो समयसम्म पनि रिसोर्ट सञ्चालनमा नआएपछि अमात्य र बैंकबीच पटक-पटक कैयन छलफल भए । तर, निचोड निस्कन सकेन ।

अहिले जग्गाको मूल्य अस्वाभाविक रुपमा बढ्यो । त्यसपछि अमात्य परिवार रिसोर्टको समस्या सुल्झाएर सञ्चालन गर्नेमा भन्दा पनि जग्गाको भाउ बढाएर बिक्री गर्ने र त्यसबाट फाइदा लिनतर्फ लाग्यो ।

अमात्यसँगको छलफल सकरात्मक नभएपछि कन्सोल्टियम लिड गरेको नेपाल बैंकले २०७९ असार ३ गते फूलबारी रिसोर्ट लिलामीको सूचना निकाल्यो । लिलामी रोक्न माग गर्दै अमात्यले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरे ।

बैंकले कानुनी प्रक्रिया सुरु गरेपछि अमात्यले विभिन्न शक्तिकेन्द्र र अदालत प्रयोग गरेर प्रक्रिया अघि बढ्न दिएनन् । यसपटक भने पाटन उच्च अदालतले लिलामी प्रक्रिया रोकेन ।

बैंकले बोलकबोलका लागि गरेको आह्वानमा एउटा मात्रै आवेदन पर्‍यो । जसमा २ अर्ब ७५ करोडमा फूलबारीको सम्पत्ति किन्ने प्रस्ताव थियो । बोलकबोलमा कम्तीमा ३ वटा आवेदन पर्नुपर्ने र जसले बढी बोलकबोल गरेको छ, उसलाई दिनुपर्ने व्यवस्था छ । तर, एउटा मात्रै परेकाले बैंकले २ अर्ब ७५ करोडको उक्त प्रस्तावलाई स्वीकार गर्न सकेन ।

‘लिलामी रोक्न पियुषजी अदालत गएकाले मान्छेहरुले आवेदन दिएनन् । एउटा मात्रै टेन्डर पर्‍यो । टेन्डर खोल्दा पूरा कागजात पनि देखिएन । कागजात पूरा भएको भए पनि पुन टेन्डर गर्नुपर्‍यो,’ वाणिज्य बैंकका सीईओ श्रेष्ठले भने, ‘तर राम्रो के भयो भने पियुषजीले २ अर्बमात्रै तिर्छु भनिरहेको अवस्थामा उक्त बोलकबोलमा परेको २ अर्ब ७५ करोडलाई हामीले मानक अंक बनायौं र त्यसैमा अडिग भयौं । अदालतले लिलामी रोक्न अन्तरिम आदेश नदिएपछि उहाँ पनि कानुनी रुपमा कमजोर हुनुभयो र अन्तिममा मानक अंकमै सहमति भयो ।’

पियुषजी यसपटक साँच्चै यो लफडाबाट मुक्त हुन चाहेको अनुभूति आफूले गरेको श्रेष्ठ बताउँछन् ।

‘उहाँले नै हामीलाई पटक-पटक छिटो गरिदिनुपर्‍यो भनिरहनुभएको छ । हाम्रो प्रक्रियागत कारणले केही ढिला भइरहेको छ,’ उनले भने, ‘मेरो पार्टी भाग्न सक्छ, तपाईंहरुले ल्याङगरिङ नगदिर्नुस् भनेर तदारुकता देखाउनु भनेको यसपटक उहाँ साँच्चै गम्भीर हुनुहुन्छ भन्ने हो ।’

ब्याजलाई ‘फ्रिज’ गरेर राख्ने र १० वर्षसम्म साँवाको किस्ता लगातार तिरेपछि त्यसपछि के-कति ब्याज मिनाहा दिन सकिन्छ दिएर रिसोर्टलाई सहयोग गर्नेगरी समझदारी बनेको छ । तर १० वर्षसम्म नियमित किस्ता आएन भने मुद्दा फेरि ब्युँतिन्छ । अहिलेको सम्झौता भनेको रिसोर्ट सञ्चालकलाई दिइएको सहयोग हो ।

फ्रिज गरिएको ब्याजमा २ प्रतिशतभन्दा कम ब्याज लिने र साँवामा चाहिँ अहिलेको चलनचल्तीको ब्याज लिने सहमति तयार भएको छ ।

तर, रिसोर्ट पुन: सञ्चालन गर्न सञ्चालक अमात्यले टोकन मनीको रुपमा बैंकलाई अहिले २० करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । र, रिनोभेसन (पुनःसंरचना)का लागि ४० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।

स्रोतका अनुसार बैंकलाई टोकन मनी र रिसोर्टको रिनोभेसनमा पनि म्यारियटले केही लगानी गर्ने भएको छ । उक्त रिसोर्ट सञ्चालनमा आएकै दिनदेखि सञ्चालन र व्यवस्थापनको जिम्मा पनि म्यारियटले नै लिनेछ । रिसोर्ट सञ्चालन गरेर आएको आम्दानीको निश्चित प्रतिशत रकम मात्रै सञ्चालक अमात्यले पाउनेछन् ।

‘अहिले लाग्ने ६०-७० करोडजति खर्च म आफैं गर्छु, त्यसपछि सञ्चालनको जिम्मा म्यारियटलाई दिन्छु,’ अमात्यले सुनाए, ‘म्यारियट आएपछि रिसोर्ट पहिलेको भन्दा पनि राम्रो भएर आउँछ ।’

यस्तो छ नालीवेली

सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको बेला पोखरामा एउटा पाँच तारे होटल खुल्यो । ‘वन अफ द ग्रेटेस्ट होटल इन द वर्ल्ड’ थिममा खुलेको होटलको नाम थियो ‘फूलबारी रिसोर्ट’ ।

पोखरामा ४ सय रोपनीको विशाल क्षेत्रफलमा फैलिएको रिसोर्ट सुरु गर्ने व्यवसायी थिए, दरबारनिकट पियुष ।

तत्कालीन समयमा फूलबारी रिसोर्टलाई नेपालको मात्र नभई दक्षिण एसियाकै ठूलो रिसोर्टको रुपमा लिइएको थियो । रिसोर्टमा १ सय ६५ कोठा थिए ।

रिसोर्ट खुल्यो । लामो समयसम्म गज्जबले चल्यो । अमात्यले मनग्य पैसा पनि कमाए । तर, विडम्बना खानदानी व्यवसायी अमात्यको ‘डाउनफल’ पनि बन्यो- त्यही फूलबारी रिसोर्ट ।

राजा र राजपरिवारका व्यक्ति विदेशमा जाँदा व्यक्तिगत रुपमा डलर व्यवस्थापन गर्न सक्ने हैसियत भएका अमात्यको बायोडाटामा फूलबारीको असफलताले बैंक डिफल्टरका रुपमा खराब चरित्रको परिचय थपिदियो । जीवनको धेरै कालखण्डमा सफल उनी उत्तरार्धमा आइपुग्दा असफलताको ट्याग भिर्न बाध्य भए ।

फूलबारी ओरालो लाग्नुको कारण यस्तो थियो । सन् १९९९ मा काठमाडौंबाट नयाँ दिल्ली गएको इन्डियन एयरलाइन्सको जहाज आंतकारीले अपहरण गरे । त्यसपछि नेपाल भित्रने पर्यटकको संख्या घट्यो । जसको सोझो प्रभाव फूलबारीमा पनि पर्‍यो ।

त्यसको केही समयपछि दरबार हत्याकाण्ड भयो । तत्कालीन राजा वीरेन्द्रसहित परिवारका सदस्य मारिए । सशस्त्र द्वन्द्वमा रहेको माओवादी पहिलो पटक वार्तामा आए पनि वार्ता सफल भएन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटकाल लगाए ।

राजनीतिको माहोल बिग्रँदै गएपछि विदेशी पर्यटकको संख्या घट्दै गयो । जसको असर महँगा पर्यटक भित्र्याउन खोलिएको फूलबारी जस्ता रिसोर्टमा पर्‍यो ।

अमात्यले सुरु गरेका बियर या स्टिलका अन्य व्यवसायसमेत सफल भएनन् ।

२०६२/६३ पछि शान्तिप्रक्रिया सुरु भयो । त्यसपछि नेपालमा पर्यटकको संख्या बढ्न थाल्यो । अन्य व्यवसायीले पनि होटल क्षेत्रमा हात हाल्न थाले । पोखरामा पनि होटल क्षेत्रमा ज्यादै ठूलो लगानी भयो ।

तर, स्तरीय पर्यटक भित्र्याउन सुरु गरेको फूलबारी रिसोर्टका लागि पर्यटकको संख्या बढ्दा पनि व्यवस्थापन गर्न समस्या भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि उद्योग तथा प्रतिस्ठानमा श्रमिक आन्दोलन अत्यधिक चर्किए । जसको असर फूलबारीले थेग्न सकेने ।

अवस्था यतिसम्म खराब आयो कि पर्यटकले महँगो रकम तिरेर होटलमा गए पनि सामान्य सेवा सुविधा नै पाएनन् । ‘अमात्यले सही उद्देश्यले सुरु गरेको कम्पनी खराब अवस्थाका कारणले सञ्चालन नै गर्न सकेनन्,’ एक होटल व्यवसायी भन्छन् ।

गलत समयसँगै व्यवस्थापनको कौशलसमेत अमात्यमा देखिएन । फलस्वरुप उनले बैंकबाट लिएको ऋणसमेत तिर्न सकेनन् । मजदुर समस्याको व्यवस्थापनसमेत भएन ।

अवस्था यतिसम्म खराब भइदियो कि होटलले कर्मचारी र कामदारलाई नियमित तलबसमेत पाउन सकेनन् । कर्मचारीलाई होटल व्यवस्थापनले अवकाश दिएको छ ।

सबै कर्मचारीलाई अवकाश दिएपछि होटल नयाँ ढंगले सञ्चालन हुने अनुमान भए पनि त्यो हुन सकेन । नेपाल बैंकको नेतृत्वमा वाणिज्य बैंकसहितले गरेको ऋण तिर्न नसकेपछि पियुषसहितका सञ्चालक कालोसूचीमा परे । उनका काठमाडौंलगायत अन्य ठाउँमा रहेका जग्गा पनि रोक्का भए ।

‘अमात्यको शक्ति भनेको दरबार थियो, दरबार नै शक्तिहीन भएपछि उनले व्यवसाय चलाउन सकेनन्,’ अमात्यसँग नजिक रहेका एक व्यवसायी सुनाउँछन्, ‘बैंकसँग नेगोसिएसनमा गएर, कर्मचारी व्यवस्थापन गरेपछि होटल चल्न सक्ने थियो, अमात्य रुग्ण उद्योगमा पारेर सुविधा लिने खेलमा लागे, जसले गर्दा होटल सञ्चालन नै हुन सकेन ।’

त्रिचन्द्र क्याम्पसमा अध्यापनसमेत गर्ने गरेका अमात्य खराब गुरुको रुपमा परिणत भए । देउवा प्रधानमन्त्री भएका बेला उनको ब्याज मिनाह गरिदिएर ऋण तिर्ने प्रयास भएको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले बैंक व्यवस्थापनलाई दबाब पनि दिए तर सफल हुन सकेनन् ।

पछिल्ला वर्षमा पर्यटकको संख्यामा वृद्धि भएसँगै होटलमा लगानी पनि ह्वातै बढेको छ । व्यावसायिक घरानाहरु पाँच तारे होटल खोल्नका लागि प्रतिस्पर्धामा छन् । राजधानीभित्र र बाहिर होटल खुल्ने क्रम बढेको छ ।

पर्यटन विकासका लागि फूलबारी रिसोर्ट सञ्चालनमा आउनु जति महत्वपूर्ण छ, उति नै ऋणको भारी बोकेर समस्या सुल्झाउन प्रयासरत रहेका सञ्चालक पियुष अमात्यलाई पनि छ । त्यसैकारण अमात्यले चिनियाँ व्यापारीलाई १० अर्ब रुपैयाँमा ८० प्रतिशत सेयर बेच्ने कसरत नगरेका होइनन, तर त्यो पनि सफल भएको थिएन ।

यसपटक भने बैंक र अमात्य दुवै पक्ष विश्वस्त छन् । नेपाल बैंक, वाणिज्य बैंक र कर्मचारी सञ्चय कोष सञ्चालक समितिको बैठक चाँडोभन्दा चाँडो बसेर यो समस्या सुल्झाउनु नै अहिलेको आवश्यकता हो । फेरि ढिला भयो भने परिस्थिति अर्को मोडमा पुग्न सक्छ ।


पुष्प दुलाल