काठमाडौं महानगरले नयाँ वर्षदेखि एकै स्थानबाट सेवा दिने

224
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ ।

यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग पनि स्थानान्तरण गरी एकै स्थानबाट सेवा दिने तयारी गरेको छ । अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् ।

कामपाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा विभाजनको काम भइरहेको छ । “ती काम सकेसँगै सबै विभाग स्थानान्तरण हुने हो । मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिनेछौँ”, सहायक प्रवक्ता अधिकारीले भने, “सर्नका लागि जति आलटाल गर्‍यो कामपालाई उत्तिनै घाटा लाग्छ, दुईतिर भाडा दिर्नुपर्छ त्यसैले सक्दो छिटो मर्मतको काम गरी सर्ने तयारी गरिएको छ ।”

सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि कामपा र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो ।

प्रशासनसँगै क्रमशः कामपाको मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौँ प्लाजामा सार्ने तयारी छ । सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी कामपाले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त सात तले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । विसं २०७२ को भूकम्पअघि कामपाको सबै सेवा ऐतिहासिक बागदरबारबाट प्रवाह भइरहेको थियो । हाल सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानून तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ छन् ।

राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुली बजार र सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ ।

Skip This