मिटरब्याज पीडितको अर्को टोली पनि काठमाडौंमा, माइतीघरमा विरोध प्रदर्शन



काठमाडौं । मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा आएर प्रदर्शनमा उत्रिएको छ । विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको टोलीले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरुले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन् । यसअघि शनिबार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सहमतिअनुसार आजै बस्ने मन्त्रिपरिषद बैठकले आयोग गठन गर्नुपर्नेछ ।

सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको एउटा समितिसँग ५ बुँदे सहमति गरेको हो ।

तर, सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरु गरेका छन् । सोमबार काठमाडौंमा आएका मिटिरब्याज पीडितले मिटरब्याजीले अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएका उनीहरुले ‘किसानको भूमि फिर्ता गर’, ‘फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर’, ‘मिटरब्याजीलाई कारबाही गर’, ‘झुटा आश्वासन बन्द गर’, ‘उत्पीडित किसान एक होऔं’ लगायतका नारा लगाएका छन् ।


क्लिकमान्डु