तीन वर्षपछि काठमाडौं-ल्हासा सीधा उडान खुल्दै



काठमाडौं । काठमाडौं-ल्हासा सीधा उडान सुरु गर्न चीन सरकार सकारात्मक देखिएको छ ।

चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको छलफलमा चिनियाँ प्रतिनिधी मण्डल कोरोना महामारपछि बन्द भएको काठमाडौं-ल्हासा सीधा उडान खुल्ला गर्न सकारात्मक देखिएको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा नेपालको तर्फबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचीव मघु मरासिनीको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले तिव्बत स्वशासित क्षेत्रका उपाध्यक्ष म्यान सिलांग निमा सहितको प्रतिनिधिसँग नेपाल र चीन सीमा नाका सहज बनाउने विषयमा वार्ता गरेको थियो ।

उक्त वार्तामा चीन रसुवाको रसुवागढी र हुम्लाको यारी नाका दुईतर्फी व्यापार, यात्रु आवत–जावत गर्न र सिन्धुपाल्चोकको तातोपानी नाका दुई पक्षिय व्यापारका लागि खुल्ला गर्न सहमत भएको छ ।

उक्त वार्ताका क्रममा नेपाली प्रतिनिधी मण्डलले कोरोना महामारी भन्दा अगाडि जसरी नै काठमाडौं–ल्हासा सीधा उडान हुनु पर्ने माग गरेका थिए । हाल ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको क्रममा रहेकाले तत्कालै सीमा उडान गर्न सम्भव नभएको चिनियाँ पक्षको भनाइ थियो ।

सन् २०२३ को अन्त्यसम्ममा ल्हासा विमानस्थल बिस्तारको काम सम्पन्न हुने र त्यसपछी काठमाडौं-ल्हासा सीधा उडान गर्ने विषयमा चिनियाँ पक्षले प्रतिवद्धता जनाएको उद्योग मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।

‘हामीले काठमाडौं ल्हासा सीधा उडान हुदाँ देशको सम्बन्ध थप बलियो हुने प्रस्ताव राखेका थियौं,’ रेग्मीले भने,‘उहाँहरु हाम्रो प्रस्तावमा सकारात्मक हुनु हुन्छ । ल्हासा विमानस्थल विस्तारको काम सम्पन्न भएलगत्तै काठमाडौं ल्हासा सीधा उडान गर्ने विषयमा छलफल गरेर निर्णय गर्ने बताउनु भएको छ ।’

हाल काठमाडौंबाट चीनको छेन्दुहुँदै ल्हासा जानु पर्ने बाध्यता छ । काठमाडौंबाट छेन्दु एउटा विमान र छेन्दुबाट अर्काे विमानमा ल्हासा जानु पर्छ । जसले गर्दा ल्हासाबाट नेपाल आउने पर्यटकको सख्यां घटेको छ ।

चीन सरकारले कोरोना महामारी लगत्तै शुन्य कोभिड नीति लिएपछि चीन तर्फबाट सबै उडान बन्द थिए । यही चैत ६ गतेबाट सिचुआन एयरलाइन्सले काठमाडौं छेन्द सिधा उडान शुरु गरेको छ । सिचुआनले चैत ६ गतेदेखि सोमबार, बुधबार र शुक्रबार छेन्दु काठमाडौं उडान गरिरहेको छ ।


क्लिकमान्डु