तीन महिनामा सातौंपटक मन्त्रिपरिषद् पुनर्गठन, क-कसले लिँदै छन् शपथ ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री सम्हालेको तीन महिनामा दाहालले सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन् ।

शुक्रबार कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर उनले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । सातौं पटकमा पनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउने भएको छ ।

भागमा परेको ८ मन्त्रालयमध्ये कांग्रेसले पहिलो चरणमा ४ जनालाई मन्त्री बनाएको छ । शेरख कोइराला पक्षले दुई मन्त्रीमात्र नमान्ने भनेपछि कांग्रेसले बाँकी मन्त्री पछि पठाउने भएको छ ।

पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । यसअघि भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार आजै दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण कार्यक्रम तय भएको छ ।

मन्त्रिपरिषद् विस्तार अघि प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।


क्लिकमान्डु