अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको छ तर, सरकारलाई मतलब छैन: उपाध्यक्ष पौडेल



धनगढी । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देश डरलाग्दो गरी अस्थिरतामा फसेको बताएका छन् ।

धनगढीमा प्रेस चौतारीले गरेको अन्तक्रियामा नेता पौडेलले मुलुक अर्थतन्त्र समाल्न नसक्ने अवस्थामा पुगेको बताए । आन्तरिक राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा मुलुक पुगेको उनको भनाइ थियो ।

‘देशमा विप्रेषणको परिसूचकबाहेक सबै सूचक नकारात्मक देखिएका छन् । अहिलको आन्तरिक राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेको छ’ उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगदाताले गरेका प्रतिबद्धता पनि प्राप्त हुन सकिरहेको छैन । तर, सरकार गम्भीर छैन ।’

एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको उनको भनाइ छ ।

‘अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ’ उनले भने ।

तर उनले अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने दाबी गरे ।


क्लिकमान्डु