सरकार विस्तार गर्दै प्रधानमन्त्री, को को बन्दै छन् मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बिहीबार विस्तार गर्ने भनिए पनि दलहरुले मन्त्रीको नाम नदिँदा रोकिएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूको शपथग्रहण आज ३ बजे हुनेछ ।

यसअघि बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डामा सहमति गरेको थियो । जसअनुसार नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी र जसपाले २/२, लोसपा, जनमत, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टीले र आम नागरिक पार्टीले १/१ मन्त्रालय पाउने छन् ।

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚सहरी विकास‚भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले उपप्रधानसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने छ भने एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने छ ।

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहमति गठबन्धनमा भएको छ ।

कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम

कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तै अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासन, एनपी साउद सहरी विकास, सिता गुरुङ भूमि व्यवस्था, डिगबहादुर लिम्बू कानुन, प्रकाशशरण महत अर्थ र मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तय भएको कांग्रेस नेताहरुको भनाइ छ ।

एकीकृत समाजवादीले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।


क्लिकमान्डु