‘ब्याजदरका नाममा साढे ४ करोड खातावालमाथि आक्रमण भयो, खराब कर्जा बढ्यो’



काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ब्याजदरका नाममा समग्र औद्योगिक क्षेत्र र ४ करोड खातावालमाथि आक्रमण भएको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष केसीले बैकिङ क्षेत्रमाथि चौतर्फी आक्रमण हुनु दुखद्् भएको बताए ।

‘अहिले नेपालको बैकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखिए पनि यो समग्र औद्योगिक क्षेत्रमा आक्रमण भएको हो, देशमाथि आक्रमण भएको हो, साढे ४ करोड खातावालमाथि आक्रमण भएको हो,’ अध्यक्ष केसीले भने ।

बैंकिङ विरुद्धका यस्त गतिविधिले दीर्घकालीनरुपमा राष्ट्रलाई नै गंभीर असर पार्ने उनको भनाइ छ ।

‘यस्ता गतिविधिले वैदेशिक लगानीमा गम्भीर असर पार्छ, जसको असर देशको अर्थतन्त्रले भोग्नुपर्छ,’ उनले भने, ‘बैंकहरुले विदेशबाट पैसा ल्याउन सुरु भएको समयमा यस्तो हुनु गलत छ ।’

व्याजदर महंगो होइन

पछिल्लो समय बैंकहरुको ब्याजदर चर्को भएको भन्दै व्यवसायीहरु सडक आन्दोलन गरिरहेका छन् । दुर्गा प्रसाईं जस्ता विवादास्पद व्यवसायीले पनि बैंक विरुद्ध अराजक गतिविधि गरिरहेका छन् ।

बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महंगो नभएको केसीले बताए ।

‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महंगो भयो भन्न मिल्दैन, अहिलेको ब्याजदर लकडाउन हुनुभन्दा ठीक अघिको अवस्थामा पुगेको मात्रै हो,’ केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौं ।’

ब्याजदर कुनै आन्दोलन गरेर घटबढ नहुने उनले प्रष्ट पारे ।

‘ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ,’ उनले भने ।

पछिल्लो समय बैंकहरुले विद्युतीय सवारीसाधनमा लगानी बढाएको बताए । उत्पादन बढाउने क्षेत्रमा पनि बैंकहरुले लगानी बढाइरहेको उनको भनाइ छ ।

अध्यक्ष केसीले घरजग्गाको कारोबार कम हुँदा खराब कर्जामा बढेको बताए । यद्यपि समग्र सूचकहरु सकारात्मक रहेकाले नेपालका बैंकहरु जोखिममा नरहेको उनको भनाइ छ ।

अध्यक्ष केसीले केसीले खराब कर्जा केही बढ्ने सम्भावना रहेको र यति नै पुग्छ भनेर भन्न नसकिने बताए । संसारभर ब्याजदर बढको बेला नेपालमा १८ लाखको मुख हेरेर ब्याज घटाउने सम्भावना कम भएको बताए । तथापि कम ब्याजदर होस् भन्नेमा बैंकर्सहरु रहेको उनको भनाइ छ ।

बैंकिङ क्षेत्रमा आक्रमण हुने हो भने चलाउन सक्दैनौ भनेर प्रधानमन्त्रीलाई भनेको र प्रधानमन्त्री समस्या समाधान गर्ने प्रतिबद्ध जनाएको उनले बताए ।


क्लिकमान्डु