काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रमा तयार हुने



काठमाडौं । भारतले प्रस्ताव गरेको काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रमा तयार गरिने भएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी एक महिनाभित्रमा नै अध्ययन प्रतिवेदन तयार गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने बताएका छन् ।

गत वर्ष असोज २२ गते भारत सरकार र नेपालबीच द्विपक्षीय समझदारी (एमओयू) भएको यो आयोजना उक्त समझदारीअनुसार भारतले आफ्नै खर्चमा डीपीआर तयार गर्ने भनिएको थियो ।

सोहीअनुसार आगामी एक महिनाभित्रमा डीपीआर तयार हुने श्रेष्ठले बताएका छन् । भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत रेलमार्गका लागि डीपीआर तयार गर्ने गत वर्ष भएको समझदारीमा उल्लेख गरिएको थियो ।

आगामी १८ महिनाभित्रमा रेलमार्गको काम सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजनाका लागि भारत सरकारले केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्ट नेपाललाई उपलब्ध गराइसकेको छ ।

उक्त रिपोर्टकाअनुसार प्रस्तावित रेलमार्गको लम्बाई १३६ किमि हुने छ भने रेलमार्ग बाराको निजगढदेखि ललितपुरको खोकनासम्म हुने उल्लेख छ ।

मन्त्री श्रेष्ठकाअनुसार भारतले डीपीआर प्रतिवेदन उपलब्ध गराएपछि रेलमार्ग निर्माणको काम कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने र प्रक्रियागत रुपमा अघि बढ्ने छ ।


क्लिकमान्डु