बढ्दै एपली ग्यास र बिजुलीमा खाना पकाउने परिवार, आधाले बाल्छन् दाउरा



काठमाडौं । १० वर्षअघि भएको राष्ट्रिय जनगणना २०६८ को तुलनामा हाल देशभर रहेका परिवारमा खाना पकाउन प्रयोग गरिने इन्धनहरुको प्रयोगमा परिवर्तन देखिएको छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ र १० वर्षअघिको २०६८ को जनगणनाको तुलनामा देशभरमा खाना पकाउन प्रयोग हुने इन्धनमध्ये काठ वा दाउरामा उल्लेख्य कमि आएको छ ।

१० वर्षअघि देशभर रहेका कुल परिवारमध्ये ६४ प्रतिशतले खाना पकाउनका लागि काठ वा दाउराको प्रयोग गरिरहेका थिए । राष्ट्रिय जनगणना २०७८ काअनुसार यसमा कमि आएर हाल देशभरमा खाना पकाउनका लागि काठ वा दाउराको प्रयोग गर्ने परिवार ५१ प्रतिशत रहेका छन् ।

त्यस्तै, १० वर्षअघि खाना पकाउनका लागि २१.०३ प्रतिशत प्रयोग भइरहेको एलपी ग्यासको प्रयोग पनि अहिले बढेको छ । हाल देशभरमा कुल परिवारमध्ये ४४.३ प्रतिशतले एपली ग्यासको प्रयोग गर्न थालेका छन् ।

त्यस्तै, खाना पकाउने इन्धनको रुपमा बिजुलीको प्रयोग पनि बढेको छ । १० वर्षअघि ०.१ प्रतिशत प्रयोग हुने बिजुली अहिले बढेर ०.०५ प्रतिशत भएको छ ।

खाना पकाउनका लागि १० वर्षअघि १ प्रतिशत रहेको मट्टितेलको प्रयोग अहिले कम भएर ०.०५ रहेको छ । त्यस्तै, १० वर्षअघि १०.४ प्रतिशत रहेको गुईठा वा गोराहाको प्रयोग पनि अहिले कम भएर २.९ प्रतिशत भएको छ ।

त्यस्तै, देशभरमा अहिले बायो ग्यासको प्रयोगमा पनि कम आएको छ । १० वर्षअघि २.४ प्रतिशत रहेको बायोग्यासको प्रयोग अहिले कम भएर १.२ प्रतिशत भएको छ ।
१० वर्षअघि ०.४ प्रतिशत रहेको अन्य किसिमका इन्धनको प्रयोगमा पनि कम आएर अहिले यो ०.१ प्रतिशत भएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ ।

१० वर्षअघि राष्ट्रिय जनगणना २०६८ काअनुसार देशमा परिवारको संख्या ५४ लाख २७ हजार ३०२ थियो । अहिले २०७८ को राष्ट्रिय जनगणनाअनुसार यो बढेर ६६ लाख ६० हजार ८४१ पुगेको छ ।


क्लिकमान्डु