दुई वर्षअघि पूरा गर्नुपर्ने काम नगरेपछि ठेकेदारलाई कारबाहीको तयारी



फाइल तस्बिर

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ ।

काठमाडौंको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति पूरा भई दुईवर्ष बितिसक्दा एक ठाउँमा मात्र पिल्लर उठाएर निर्माण बीचमै छाडेपछि काम अलपत्र परेको छ ।

पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरी सम्पर्कविहीन भएपछि डिभिजन कार्यालय चौरजहारीले अन्तिम पत्र लेख्दै ठेक्का तोडने चेतावनी दिएको हो । काम गर्ने भए विश्वसनीय कार्ययोजनासहित १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अन्तिम पटक चेतावनी दिइएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए ।

यसअघि म्याद थप गर्दा गरिएका प्रतिबद्धता अनुसार काम नभएको भन्दै कार्यालयले १५ दिनभित्र विश्वासनीय स्पस्टीकरण र समयमै निर्माण गर्ने यथेष्ट कार्ययोजनासहित आउन अन्तिम चेतावनी पत्र लेखेको छ ।

कार्यालयले चेतावनी पत्रलाई अटेर गरी सम्पर्कमा नआए ठेक्का रद्द गर्ने चेतावनी दिएको छ । यहाँ काम गर्ने मजदुरले यसअघि काम गरेको पारिश्रमिक समेत नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले रू १० लाख र स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेका मजदुरले रू छ लाख नपाएको बताएका छन् ।

स्थानीय चङ्खलाल नेपालीको ट्र्याक्टर प्रयोग गरेबापत निर्माण कम्पनीले रू छ लाख र मजदुरले खाना बापतको रू दुई लाख भुक्तानी नगरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन् ।

जाजरकोट खण्डमा सामान्य पिल्लर उठाइएको छ । कम्पनीले छेडागाड नगरपालिकाका प्रमुख रत्न खड्काले बैंक ग्यारेन्टी राखेर काम सुरु गरेको थियो । सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की बराबरको रकम बैंकबाट कार्यालयले फिर्ता लिएपछि पुल निर्माण नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । रू नौ करोडमा पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

खड्काले बीचमै काम छोडेपछि निर्माणको जिम्मा लिएको मृत सञ्जीवनी गाल्वा जेभीले हालसम्म काम अघि बढाएको छैन । भेरी करिडोरबाट रुकुम पश्चिम राप्ती लोकमार्गसँग जोड्ने उक्त पुल सात वर्षसम्म निर्माण नहुँदा यहाँको विकास निर्माणसमेत अवरुद्ध भएको छ । साथै भेरी करिडोर र राप्ती लोकमार्ग जोड्ने कामसमेत अवरुद्ध भएको छ ।

त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गसँग भेरी करिडोर जोड्ने रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको पूर्तिमकाँडा –गराइलाको बीचमा रहेको सानी भेरीको पुलसमेत नौ वर्षदेखि अलपत्र परेपछि सडक डिभिजन चौरजहारीले कारबाही गर्ने अन्तिम तयारी थालेको छ ।

सपना सैलुङ जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७१ मङ्सिर २ गते सडक डिभिजनसँग सम्झौता गरेको थियो । सम्झौताको भाका नाघेको दुई वर्ष पूरा हुँदासम्म पनि कामको सुरुवात नगरेकाले सडक डिभिजन कार्यालयले कारबाही गर्न सार्वजानिक सूचना निकालेको छ ।

उक्त पुलले पुष्पलाल मध्यपहाडी, भेरी करिडोर सडकसँग जोडिने उद्देश्यले ठेक्का खोलिएको थियो । निर्माण कम्पनीले काम सुरु नगर्दा ठेक्का तोड्ने अवस्थामा पुगेको डिभिजन प्रमुख कर्णले बताए । म्याद थप गर्दा गरिएका प्रतिबद्धताअनुसार काम नभएको भन्दै डिभिजन कार्यालयले १५ दिनभित्र काम गर्ने प्रतिवद्धतासहित कार्ययोजना तयार गरी सम्पर्क आउन अन्तिम चेतावनी पत्र लेखेको छ ।

“चेतावनी पत्रलाई अटेर गरेमा प्रचलित कानुन अनुसार ठेक्का रद्द गरिने छ”, उनले भने । कामको जिम्मेवारी लिएर तोकिएको समयमा पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने प्रमुख कर्णले बताए ।


क्लिकमान्डु