सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे



काठमाडौं । शिवनाथ पाण्डे सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त हुने भएका छन् । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरी उक्त प्रस्ताव स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाएका छन् ।

प्राधिकरणले आजै उक्त प्रस्तावलाई स्वीकृति दिने श्रोतले जनाएको छ ।

प्राधिकरणबाट स्वीकृति पाएसँगै पाण्डेले मर्जपछि बन्ने नयाँ कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्ने छन् । पाण्डे हाल कुनै पनि बीमा कम्पनीमा आवद्ध छैनन् । यस अघि पाण्डेले सूर्या लाइफमा रही सीईओ पदको जिम्मेवारी सम्हालेका थिए ।

रिलायन्स लाइफ र सानिमा लाइफले आज चैत ९ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कम्पनीहरुले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट आजदेखि एकीकृत कारोबार थालनी गर्न लागेका हुन् ।

मर्जरमा जानका लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । प्राधिकरणले फागुन १८ गते दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो


क्लिकमान्डु