विराटनगरमा आकासे पुल र स्वागतद्वार निर्माण हुँदै, दुई वर्षभित्र निर्माण सकिने



विराटनगर । तीन वर्षअघि नै निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको विराटनगर–१७ रानी, नेपाल–भारत सीमा नाका नजिकै आकासे पुल र स्वागतद्वार एकसाथ निर्माण गरिने भएका छन् । निर्माणका लागि बुधबारदेखि काम सुरु गरिएको हो ।

ती दुवै संरचनाको लागि सम्झौता भएर पनि अहिलेसम्म निर्माणको प्रक्रिया अघि बढेको थिएन । मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई वर्षभित्र निर्माण सक्ने गरी आकासे पुल र स्वागतद्वार संरचना निर्माणको शिलान्यास गरेका छन् ।

ती दुवै संरचनामध्ये आकासे पुल विराटनगरको लागि पहिलो हो । विराटनगरका निर्वतमान मेयर भीम पराजुलीले नगरका ४ विभिन्न ठाउँमा आकासे पुल बनाउने योजना महानगरपालिका पहिलो बोर्ड बैठकबाट पारित गराए पनि त्यसको कार्यान्वय नगरी उनको पाँच वर्षे कार्यकाल सकिएको थियो ।

विराटनगरका वर्तमान मेयर नागेश कोइराला निर्वाचित भएर आकको १ वर्ष पुग्न लाग्दा आकासे पुल बन्ने पहिलो योजनाले साकार रुप लिन लागेको हो ।

ती दुई संरचना निर्माण गर्न प्रदेश सरकारको ७०, विराटनगर महानगरपालिकाको २० र उद्योग संगठन मोरङको ५ प्रतिशत लगानीमा २०७७ जेठ २७ गते निर्माण व्यवसायी ह्याबिटेट–आशीषदीप जेभीसँग सम्झौता भएको थियो ।

कुल ६ करोड २५ लाख २४ हजार ९ सय ४४ रुपैयाँको लागतमा आकासे पुल र स्वागतद्वार बन्ने सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले बताए ।

शिलान्यास कार्यक्रममा सम्झौता भएको दुई वर्षमा दुवै संरचना निर्माण सम्पन्न गर्न मुख्यमन्त्री कार्कीले निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । आकासे पुल र स्वागतद्वारले कोशी प्रदेशको पहिचान झल्काउने पनि उनले दाबी गरेका छन् ।

कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईंको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मन्त्रालयका सचिव मोहनराज चापागाईंले ठेक्का सम्झौता भएको तीन वर्षपछि तीनै तहका सरकार र सरोकारवाला पक्षहरूबीच समन्वय गरेर निर्माण सुरु गर्ने अवस्थामा पुर्‍याइएको बताए ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले सबैको अपनत्व कायम हुने गरी महत्वपूर्ण संरचना निर्माणको प्रक्रिया थालनी भएको बताइन् ।

नेपाल उद्योग परिसंघ, कोशीका अध्यक्ष भीम घिमिरेले आफू उद्योग संगठन मोरङको अध्यक्ष भएको समयमा प्रदेश सरकारसँग सहकार्य गरेर फ्लाइओभरसहितको स्वागतद्वार निर्माणको योजना अघि बढाएको दाबी गरेका छन् ।

आकासे पुलसहितको स्वागतद्वार निर्माणपछि जोगवनी नाकाबाट नेपाल प्रवेश गर्ने भारतका नागरिकहरूले कोशी प्रदेशमा प्रवेश गरेको जानकारी हासिल हुने जनाइएको छ । अहिले बन्न लागेको स्वागतद्वार विराटनगर भन्सार कार्यालयको पुरानो भवननजिकमा पर्दछ ।


क्लिकमान्डु