मदन भण्डारी राजमार्गमा १ सय ८५ पुल मध्ये ९७ पुल निर्माण सम्पन्न



काठमाडौं । पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

लम्बाइका हिसाबले ठूला पुल सम्पन्न भइसकेका र अब निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इञ्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए ।

निर्माणमा जान बाँकी पुलमध्ये बढी लम्बाइको पुल कर्णाली नदीमा निर्माण गर्नुपर्ने छ । त्यसबाहेक अधिंकाश कम लम्बाइको हुनसक्ने देखिएको उनले बताए । ‘डेढ–दुई सय मिटरसम्मको पुल हुनसक्छ’उनले भने ।

चालू आवमा २४ किमी सडक कालोपत्रसँगै १० पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । हालसम्म चार पुल सम्पन्न भइसकेको र अरूमा निर्माण भइरहेको उनले बताए ।

पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्ने गरी सुरु भएको राजमार्गमा ठाउँठाउँमा अरू सडकमा जोडिने भएको छ । अरू राजमार्ग कम चौडाइका भएमा त्यसलाई पनि मदन भण्डारीको स्तरमा स्तरोन्नति गरिने योजना रहेको इञ्जिनियर तिमल्सिनाले जानकारी दिए ।

अहिले एक लेन (तीन दशमलव पाँच मिटर चौडाइ) वा इन्टरमेडिएट (पाँच दशमलव पाँच मिटर चौडाइ) को पुल भएमा तिनको पनि भविष्यमा राजमार्गको स्तरमा स्तरोन्नति हुनसक्ने उनले बताए । ‘अहिले भर्खरै चलिरहेको पुल भएमा त्यहाँको सवारी साधनको चापका आधारमा आवश्यक देखिएमा काम हुन सक्नेछ’ तिमल्सनाले भने ।

चालू आवमा राजमार्गका लागि सरकारले रु दुई अर्ब ८२ करोड विनियोजन गरेको थियो । सरकारले प्राथमिकता प्राप्त आयोजना (पिवान) का रुपमा अघि बढाइरहेको सो आयोजनाको जम्मा लम्बाइ एक हजार तीन सय ९० किमी रहेको छ । जम्मा लम्बाइमध्ये निर्देशनालयले सात सय ४० किमी सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको छ ।

सो राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा समेत हेरिएको छ । सरकारले पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको चाप बढिरहँदा चारदेखि छ लेनमा विस्तार गरिरहेको छ । राजमार्गको विकल्पका रुपमा यो राजमार्गले पनि पूर्व–पश्चिम राजमार्गको चाप कम गर्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु