विदेशी कम्पनीलाई थप उडान पहुँच नदिने पक्षमा भारत



एजेन्सी । भारतले आफ्ना विमानस्थलमा पहुँच बनाउन खोजिरहेका धेरै अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको विपक्षमा कदम चाल्ने तयारी गरेको छ ।

विश्वव्यापी अर्थतन्त्रमा शक्तिशाली देशको रुपमा उदाउँदै गएको देशमा आफ्नो बर्चश्व कायम गर्न खोजिरहेका विदेशी एयरलाइन्सहरुलाई निराश पार्ने गरि भारतका उड्डयन मन्त्री ज्योतिरादित्य एम सिन्धियाले अभिव्यक्ति दिएका छन् ।

भारतीय विमानस्थलमा थप पहुँच पाउने आशामा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई निराश पार्ने गरि मंगलबार सिन्धियाले स्वदेशी एयरलाइन्स कम्पनीलाई नै लामो यात्रा गर्न सक्ने विमान किन्न र नयाँ हबहरु स्थापना गर्नमा काम गर्न भनेका छन् । भारतीय आकाशमा स्वदेशी एयरलाइन्सको बर्चश्व र अन्तर्राष्ट्रिय आकाशमा पनि भारतको बलियो उपस्थिति हुनुपर्ने भन्दै उनले यस्तो बताएका हुन् ।

रोयटर्ससँगको कुराकानीमा उनले स्वेदशी जहाजहरु अन्तर्राष्ट्रिय रुपमा विस्तार हुनुपर्ने भन्दै उनले भने, ‘भारत अहिले त्यो बिन्दुमा आइपुगेको छ । अब आउने केही वर्षमा नै भारतमा हवाई यातायातमा क्रान्ति हुनेछ ।’

भारत उड्डयन क्षेत्रमा पछिल्लो समय सबैभन्दा तीव्र रुपमा गति लिइरहेको बजारमध्येमा पर्छ । अन्तर्राष्ट्रियदेखि राष्ट्रिय दुवै किसिमका उडानहरुका लागि भइरहेको माग त्यहाँ भएका विमानको क्षमताभन्दा धेरै नै छ ।

तर, अन्तर्राष्ट्रिय उडानका अधिकांश गन्तव्यहरुमा भने भारतीय नभएर विदेशी जहाज कम्पनीहरुको बर्चश्व रहेको छ । अब भने भारत पनि विश्वव्यापी रुपमा हवाई यात्राका लागि उत्कृष्ट र स्वेदशी उत्पादनले आत्मनिर्भर बन्ने लक्ष्य लिएर हिँडेको समाचारमा जनाइएको छ।

गत महिना मात्र हवाई यात्रा र उड्डयन क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो ४७० हवाईजहाज खरिद गर्न अर्डर गर्दै भारतीय कम्पनी एयरइण्डियाले रेकर्ड बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आक्रमक रुपमा प्रवेश गर्ने सोचसहित एयर इण्डियाले यो निर्णय लिएको थियो । एयर इण्डियाको स्वेदशी प्रतिस्पर्धि इण्डिगोले पनि केही समयभित्रमा नै ५ सय जहाजको खरिद गर्न लागेको पनि छ।

यो सबै कदमलाई भारत अन्तर्राष्ट्रिय उडान बजारमा आफ्नो हिस्सा खोज्दै अघि बढ्न लागेको रुपमा लिइएको छ ।

यसबीच विदेशी एयरलाइन्सहरुले भने भारतबाट अन्य देशमा हुने उडानमा उनीहरुको हिस्सा बढाउनुपर्ने माग पनि गरिरहेका छन् ।


क्लिकमान्डु