रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो सरकार



काठमाडौं । रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने भएको निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा सरकारले केही दिनअघि अनुदान कटौती गर्ने निर्णय गरेको थियो । कृषक तथा कृषकका संघ-संगठनले यसको चर्को विरोध गर्दै आएका थिए ।

मन्त्रिपरिषद् बैठकका अरु निर्णय यस्ता छन्-

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

नेपाल र बंगालदेशबीच Sharing of Real Time Hydro–meteorological Data and information for flood Forecasting and Warning को समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने ।

विद्युत नियमन आयोगका सदस्य रामेश्वरप्रसाद कलवारको राजीनामा स्वीकृत गर्ने ।

नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा गर्ने ।

प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकूलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका १ को करिब २८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने ।

नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्कालाई नियुक्त गर्ने ।

दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने ।

नेपाली सेनाको Land Force Talks (LFT) को चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने ।


क्लिकमान्डु