७२ करोड लगानीमा विराटनगरमा मल्टिप्लेक्स सिनेमा हलसहित सेन्ट्रल मल बन्ने



काठमाडौं । मोरङ जिल्लाको विराटनगरमा ७२ करोड लगानीमा मल्टिप्लेक्स सिनेमा हलसहित सेन्ट्रल मल निर्माण हुने भएको छ ।

ओमेगा हाउजिङ्ग प्रालि (हाल सेन्ट्रल डेभलपर्स प्रालि) ले विराटनगर नगरपालिका–७ मा ७२ करोड लगानीमा पसल, गोदाम, फुड कोर्ट र मल्टिप्लेक्स सिनेमा हलसहितको मल निर्माण गर्ने भएको हो ।

कम्पनीले मल निर्माणका लागि वातावराणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) तयार गरिसकेको छ । प्रतिवेदनअनुसार कम्पनीको स्वामित्वमा रहेको ५४६८.६९ वर्गमिटर जग्गामा मल निर्माण हुने छ ।

भवनको क्षेत्रफल १२ हजार ५१२.६३ वर्गमिटर क्षेत्रफल रहेको छ । मल ४ तलाको बन्नेछ । कम्पनीले सेमी–बेसमेन्ट ४०४५.७८ वर्गमिटरमा निर्माण गर्ने भएको छ ।

त्यसैगरी, भुइ तला २६.१३ वर्गमिटर, पहिलो तला २२९७.३८ वर्गमिटर, दोस्रो तला २३५०.१६ वर्गमिटर र तेस्रो तला १२०७.२९ वर्गमिटर क्षेत्रफलमा निर्माण गर्ने छ । भवनको उचाई १७.४४ मिटर अग्लो हुनेछ ।

मलमा ११० वटा पसलहरु रहनेछन् भने १० वटा फुड कोर्ट र ४६४ जना क्षमताको मल्टिप्लेक्स सिनेमा हल बन्नेछ । कम्पनीले दैनिक मलमा ३५ सय जना ग्राहक किनबेच गर्न आउने अपेक्षा गरेको छ । साथै, चाडपर्वको समयमा ५ हजार जना ग्राहकले मलमा किनबेच गर्ने कम्पनीको विश्वास छ ।


क्लिकमान्डु