तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी



काठमाडौं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रका कारण कर्मचारीलाई तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अर्थविद् डा पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गरे । उनले विकास खर्च र कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए ।

नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण राजनीतिक अस्थिरता भएको तर्क गरे ।

नेताहरुमा अर्थतन्त्रबारे गम्भीरता नै नरहेको र मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको उनले बताए ।

‘जब हामीले विकास खर्च कम, चालू खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ । हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । हाम्रो चालू खर्च तलब, भत्ता, पेन्सनहरु दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ’ उनले भने, ‘हिजो साँझ सम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो आर्थिक वर्षमा करिa २ सय अर्ब घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ।’

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानून फेरबदलको खाँचो रहेको बताए ।


क्लिकमान्डु