आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक–आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् ।

नेपाल बिमा प्राधिकरणबाट जारी भएका निर्देशन तथा नीति, नियमको पालना गर्दै बिमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा र अवसरलाई ध्यानमा राखेर मर्जर सम्झौता गरिएको हो । सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।

मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्टका आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर अनुपात १:१ कायम रहनेछ ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै उत्कृष्ट व्यावसायिक घरानाका व्यक्तिको संलग्नता रहेकाले हुँदा मर्जरपछि यो कम्पनी उत्कृष्ट बिमा कम्पनी बन्ने बताए ।


क्लिकमान्डु