आईएमएफले श्रीलंकालाई २.९ अर्ब अमेरिकी डलर कर्जा स्वीकृत गर्ने



एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको छ । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्घेले आईएमएफले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

आईएमएफको यो राहत प्याकेज प्राप्त भएसँगै देशको ‘डलर संकट’ अन्त्य हुने उनले बताएका छन् । ‘यो सहयोगपछि श्रीलंकासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुनेछ,’ गभर्नर विरासिंघेले भने, ‘आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउनेछ ।’

सन् २०२२ मा गम्भीर आर्थिक संकटको चपेटामा परेपछि दक्षिण एसियाली मुलुक श्रीलंकाले अन्तर्राष्ट्रिय ऋणदातासँग सहयोगका लागि वार्ता थालेको थियो ।


क्लिकमान्डु