विशेष अदालतको फैसलाविरुद्ध अख्तियार, ९ महिनामा १८४ मुद्दा सर्वोच्चमा पुनरावेदन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च जाने क्रम बढेको छ । अख्तियारले विशेष अदातलको फैसलामा चित्त नबुझाएर सर्वोच्च अदालतमा पुनरावेदन गर्ने क्रम ह्वात्तै बढेको हो ।

चालू आर्थिक वर्षको असारदेखि फागुनसम्मका ९ महिनामा विशेष अदातलको फैसलामा चित्त नबुझाउँदै अख्तियारले १८४ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । असारदेखि कात्तिकसम्ममा १२३ वटा मुद्दा पुनरावेदन गरेको अख्तियारले मंसिरमा १७, पुसमा २१, माघमा १२ र फागुनमा ११ वटा मुद्दा पुनरावेदन गरेको छ ।

पुनरावेदन गरिएका मुद्दामा घुस, राजस्व चुहावट, गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइ, गैरकानुनी सम्पत्ति आर्जन, सार्वजनिक सम्पत्ति नोक्सानीलगायत रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । विशेष अदालतको फैसलामा चित्त नबुझेर अख्तियार सर्वोच्च जान क्रम व्यापक बढेको छ ।

गत वर्षभरमा विशेषको फैसलामा चित्त नबुझेका ५७ मुद्दा लिएर अख्तियार सर्वोच्च अदालत पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ५८ र आर्थिक वर्ष २०७६/७७ मा २० वटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको थियो ।

विशेष अदालतबाट भएका भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलामा अख्तियारले दाबी गरेअनुसार कसुर स्थापित हुन सकेको पाइँदैन । विगत वर्षहरुका तुलनामा गत वर्ष कसुर स्थापितको अवस्था निकै नै कमजोर छ ।

गत वर्षभरमा विशेषले १४८ मुद्दा फैसला गरेकोमा ३८.५१ प्रतिशत मुद्दामा मात्रै कसुर स्थापित भएको हो । आर्थिक वर्ष २०७७/७८ मा ७१.६८ प्रतिशत, २०७६/७७ मा ८४.८ प्रतिशत र २०७५/७६ मा भने ८८.२४ प्रतिशतसम्म कसुर स्थापित भएको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु