‘उद्योगहरुको बढ्दो उत्पादन लागत घटाउन उर्जाको समूचित व्यवस्थापन जरुरी’



विराटनगर । उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्रले उद्योग प्रतिष्ठानहरुमा उर्जा दक्षताको महत्वका बारेमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेका छन् । सो कार्यक्रम जीआईजेडको प्राविधिक सहयोगमा उद्योगीहरुका लागि आयोजना गरिएको हो ।

विभिन्न उद्योग प्रतिष्ठानका संचालक तथा व्यवस्थापकको सहभागिताका रहेको कार्यक्रममा संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योगहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेर गइरहेको उर्जाको ब्यवस्थापनका गर्नुपर्ने बताए ।

उनले यर्थाथपरक उर्जा वचतको उपायहरु खोजी गरी सुधार गर्नसके वार्षिकरुपमा लाखौं रकम वचत गर्न सफल हुने दाबी प्रस्तुत गरे । उनले उद्योगहरुको बढ्दो उत्पादन लागत घटाउन खेर गइरहेका उर्जाको समूचित व्यवस्थापन गरी हाल प्राप्त उर्जाबाट बढीभन्दा बढी उत्पादकत्व लिन उद्योग व्यवसायहरु केन्द्रित हुनुपर्नेमा जोड दिए ।

जीआईजेडका कम्पोनेन्ट म्यानेजर संजय गोर्खालीले उर्जा उपभोगका सन्दर्भमा आगामी दिनहरुमा आउन सक्ने नीतिलाई ध्यानमा राखी सोही अनुरुपको उर्जा वचतका विधिहरु अपनाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

जीआईजेडले निजी क्षेत्रका उद्योग व्यवसायलाई कानुनी र संस्थागत रुपमा सहयोग पुर्‍याउने गरी कार्ययोजना तयार गरिरहेको जानकारी गराउँदै उर्जा दक्षतासम्बन्धी कार्यक्रम देशव्यापीरुपमा लैजाने तयारी भइरहेको उनले बताए ।

जीआईजेडका वरिष्ठ उर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्यायले उद्योगको उत्पादन लागतमा उर्जाको मूल्य न्यूनीकरणका लागि उद्योगीहरुलाई ईनर्जी अडिट गर्न सुझाव दिए । उनले उद्योग प्रतिष्ठानले खपत गरिरहेको उर्जाको मापन गरी न्यूनीकरणका उपाय अबलम्वन गरेका उद्योगहरुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि भएको उदाहरण प्रस्तुत गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक काठमाडौंका प्रबन्धक होमराज भट्टराईले वाणिज्य वैंकले उर्जा दक्षता कार्यक्रम लागू गर्ने उद्योगहरुका लागि बैंकले के कस्ता व्यवस्था गरेको छ भनेर जानकारी गराए ।

रिप–ग्रिनका उर्जा सल्लाहकार सुदन कायस्थले औद्योगिक क्षेत्रले हाल खपत गरिरहेको उर्जाका सन्दर्भमा अवधारणा प्रस्तुत गर्दै जीआईजेडले सन २०२४ सम्म नेपालका पचासभन्दा बढी उद्योगमा निःशुल्क उर्जा परीक्षण गर्ने कार्यक्रम तय भएको र सोही सन्दर्भमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलाव श्रेष्ठले विश्वका अधिकांश मुलुकले उर्जा खपत घटाउने आयामहरुलाई प्राथमिकता दिइरहेको अवस्थालाई मध्यनजर गरी महासंघले उर्जा दक्षता केन्द्रमार्फत् औद्योगिक करिडोर भएका स्थानहरुमा यसप्रकारको कार्यक्रमहरु संचालन गरिरहेको बताए ।


क्लिकमान्डु