महासंघ चुनावः अञ्जन श्रेष्ठ भर्सेस रामचन्द्र संघाई, कसले मार्ला बाजी ?



काठमाडौं । चैत लागेसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल तातेको छ।

अर्को कार्यकालका लागि अध्यक्ष बन्ने सपना देख्दै ४ जनाले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने आकांक्षा देखाएका छन् । यही चैत अन्तिम साता महासंघको चुनाव हुँदैछ । चुनावी प्रक्रिया सकिएसँगै अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: महासंघको अध्यक्ष बन्दैछन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ । त्यसैले, वरिष्ठ उपाध्यक्षको पद महासंघका लागि सबैभन्दा आकर्षक हो ।

अहिलेका उपाध्यक्षहरु अञ्जन श्रेष्ठ (वस्तुगत), रामचन्द्र संघाई (एसोसिएट) र दिनेश श्रेष्ठ (जिल्लानगर)ले वरिष्ठ उपाध्यक्षमा चुनाव उठ्ने घोषणा गर्दै दौडधूप गरिरहेका छन् । त्यस्तै, यसअघिको निर्वाचनमा वस्तुगत उपाध्यक्षमा पराजित उमेशलाल श्रेष्ठले पनि वरिष्ठमा उम्मेद्वारी दिने घोषणा गर्दै दुई महिनाअघि नै चुनावी कार्यालय खोलेर गृहकार्य गरिरहेका छन् ।

यद्यपि अहिलेसम्म दिनेश श्रेष्ठ र उमेशलाल श्रेष्ठले टिम बनाउन सकेका छैनन् । कुनै पनि विषयमा अलि उत्ताउलो अभिव्यक्ति दिने दिनेश श्रेष्ठ पछिल्लो समय बैंकको ब्याजदरका विषयमा अराजक अभिव्यक्ति दिएर विवादमा समेत तानिएका थिए । त्यसैले, उनले आफ्नो टिमबाट उपाध्यक्ष उठ्ने आकांक्षी नै अहिलेसम्म फेला पार्न सकेका छैनन् ।

‘म विधानअनुसार स्वत: अध्यक्ष हुँदैछु, अध्यक्ष भइसकेको व्यक्तिले गुटबन्दी गर्नु हुँदैन, तपाईंहरु आफ्नो ढंगले चुनाव उठ्नुहोस्, जसले जित्नुहुन्छ त्यही मेरो टिम हो,’ उम्मेद्वारहरुसँग चन्द्र ढकालले भन्ने गरेका छन्, ‘म शेखरजीले जस्तो फलानो मेरो टिम हो भनेर गुटबन्दी गर्ने पक्षमा छैन । सबैलाई मिलाएर अघि बढ्छु ।’

त्यस्तै, आफूलाई विवादास्पद व्यवसायी चण्डीराज ढकालको समर्थन रहेको भन्दै चुनाव प्रचार गरिरहेका उमेशलाल श्रेष्ठले पनि आफ्नो टिमबाट उपाध्यक्षका लागि उम्मेद्वार पाउन सकेका छैनन् । स्रोतका अनुसार दिनेश नै उमेशलालको टिमबाट फेरि पनि जिल्लानगर तर्फको उपाध्यक्ष उठ्नेगरी टिमका लागि गृहकारी भइरहेको छ ।

चुनाव आउन ३० दिन पनि बाँकी छैन । अहिलेसम्म टिम बनाउन नसकेका उम्मेद्वारहरु अन्य आकांक्षीसँग प्रतिस्पर्धामै आउन नसक्ने व्यवसायीहरुकै विश्लेषण छ ।

‘अहिलेसम्म टिम त बनाउन नसक्नेले कसरी चुनाव जित्लान् र खै ?’ एक पूर्वअध्यक्षले भने, ‘प्रतिस्पर्धा अञ्जन र रामचन्द्रबीच नै हुने देखिन्छ ।’

आकांक्षीले बनाएको टिमले निर्वाचनको परिणाम कसको पक्षमा पर्ला भनेर आफूले केही विश्लेषण गर्न सक्ने भए पनि अहिले त्यसबारे नबोल्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठले एसोसिएट उपाध्यक्षमा जोत्स्ना श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधानलाई आफ्नो टिममा समावेश गरेका छन् । जातीय हिसाबमा हेर्दा अञ्जनको टिममा तीनजना नेवार र एकजना ब्राह्मण समुदायका छन् ।

केही दिनअघि राजधानीमा पत्रकारहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा अञ्जनले तीनैजना उपाध्यक्षका उम्मेद्वारहरुलाई साथैमा राखेर संक्षिप्त परिचय गराए । यद्यपि उनले औपचारिकरुपमा केही दिनपछि मात्रै टिम घोषणा गर्ने जनाएका थिए ।

त्यस्तै, अर्का आकांक्षी रामचन्द्र संघाईले एसोसिएट उपाध्यक्षमा भरत आचार्य, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा सन्दीप अग्रवाललाई उम्मेद्वारी बनाएको दाबी गरेका छन् । तर, संघाईले आफ्ना उपाध्यक्षका उम्मेद्वारहरुलाई सार्वजनिकरुपमा परिचय भने गराएका छैनन् । त्यसकारण उनको टिममा हेरफेर हुनसक्ने आशंका गरिएको छ ।

संघाईले पनि केही दिनभित्रै आफ्नो टिमको औपचारिक घोषणा हुने बताएका छन् । संघाईले दाबी गरेअनुसार नै उनको टिम बन्यो भने जातीयरुपमा हेर्दा दुई जना माडवारी, एकजना नेवार र एकजना ब्राह्मण समुदायका हुने छन् ।

महासंघजस्तो संस्थामा क्षमताका आधारमा उम्मेद्वारको चयन हुने भए पनि जसरी राजनीतिले अर्थ राख्छ, त्यसैगरी जातीय कुराले पनि महत्वपूर्ण अर्थ राख्छ । नेपालको व्यापार व्यवसायमा खासगरी माडवारी र नेवार समुदाय हावी छन् । यस अर्थमा यी दुई समुदायको ठूलो भोट छ । जसले समावेसी टिम बनाएर यी दुई समूहको भोट तान्न सक्छ, उसलाई निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सजिलो हुन्छ ।

यसअघि, शेखर गोल्छा, पशुपति मुरारका, कुशकुमार जोशी लगायतले असहयोग गर्दा पनि त्यही टिम भित्रका शाहिल अग्रवाल, ज्ञानेन्द्रलाल प्रधान, अञ्जन श्रेष्ठ, सौरभ ज्योतिहरुको भोट चोर्नुका साथै चन्द्र ढकालले रामचन्द्र संघाईलाई अन्तिम समयमा आफ्नो टिमबाट उपाध्यक्ष उठाएर माडवारी समुदायको पनि मत लिन सफल भए । जसले गर्दा ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

जिल्ला नगरमा ढकालको व्यक्तिगत सम्बन्ध राम्रो थियो भने चण्डीराज ढकालका कारण पनि केही मत जोडिएको थियो । प्रतिद्वन्द्वी किशोर प्रधानको प्यानलबाट उपाध्यक्ष उठेका सौरभ ज्योति र अञ्जनले पनि भित्रभित्रै चन्द्रलाई नै सहयोग गरेका थिए ।

अञ्जन र रामचन्द्र को बालियो ?

अहिलेसम्मको अवस्था विश्लेषण गर्दा दुबै ‘नेक टू नेक’को अवस्थामा रहेको महासंघको राजनीतिलाई नजिकबाट नियालिरहेका अर्का पूर्वअध्यक्ष बताउँछन् ।

‘अञ्जनजी र रामचन्द्रजी तराजुमा राख्दा बराबर देखिनुहुन्छ,’ उनले भने, ‘अन्तिम समयमा आएर हुने परिवर्तनले परिणाम कसको पक्षमा पर्छ भन्ने निर्धारण गर्छ ।’

अन्तिम समयमा हुने परिवर्तन भनेको के हो ? भन्ने प्रश्नमा ती पूर्वअध्यक्षले भने, ‘स्वत अध्यक्ष हुँदै गरेका चन्द्रजीले जसलाई सहयोग गर्नुहुन्छ, उसैको पल्ला भारी हुने देखिन्छ ।’

गुटबन्दी गरेर शेखर गोल्छाले जस्तो गल्ती नगर्ने चन्द्रको अडान

तर, अहिलेसम्म चन्द्र ढकाल कुनै पनि उम्मेद्वारको पक्षमा खुलेका छैनन् । र, नखुल्ने बताउँदै आएका छन् ।

यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफू स्वत: अध्यक्ष हुने निश्चित हुँदाहुँदै पनि वरिष्ठ उपाध्यक्षसहित सम्पूर्ण कार्यसमितिकै प्यानल बनाएर आफ्नो टिमलाई जिताउन भन्दै देशब्यापीरुपमा भोट माग्दै हिँडेका थिए । गोल्छाले वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, वस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र जिल्ला नगरमा दिनेश श्रेष्ठ आफ्नो टिमको उम्मेद्वार रहेको भन्दै भोट माग्दै हिँडेका थिए ।

विधानअनुसार स्वत: अध्यक्ष बन्नेले नै कुनै एउटा समूहलाई आफ्नो टिम भएको भन्दै हिँड्नु गुटबन्दीको चरम नमुना भएको भन्दै ब्यापक आलोचना भएको थियो । गोल्छाले आफ्नो मर्यादा बिर्सेर तटस्थ नबसी गुटको नेतृत्व गरेको आरोप लाग्ने गरेको छ।

तर, विधानअनुसार स्वत: अध्यक्ष बन्दै गरेका चन्द्र ढकालले भने गुटबन्दी गरेर शेखर गोल्छाले गरेको गल्ती आफूले नदोहोर्‍याउने बताउँदै आएका छन् ।

‘म विधानअनुसार स्वत: अध्यक्ष हुँदैछु, अध्यक्ष भइसकेको व्यक्तिले गुटबन्दी गर्नु हुँदैन, तपाईंहरु आफ्नो ढंगले चुनाव उठ्नुहोस्, जसले जित्नुहुन्छ त्यही मेरो टिम हो,’ उम्मेद्वारहरुसँग ढकालले भन्ने गरेका छन्, ‘म शेखरजीले जस्तो फलानो मेरो टिम हो भनेर गुटबन्दी गर्ने पक्षमा छैन । सबैलाई मिलाएर अघि बढ्छु ।’

ढकालले भोट जसलाई हाले पनि कसैको पक्षमा नखुल्ने प्रष्ट अडान राख्दै आएका छन् । ढकालको समर्थन पाउन वरिष्ठ उपाध्यक्षका सबै प्रत्यासीहरु उनीसँग निकट हुने प्रयास गरिरहेका छन् । र, सबै उम्मेद्वार आफूले ढकालको समर्थन पाउने आशामा छन् । ढकालले भने कसैलाई पनि बचन दिइसकेका छैनन् ।


क्लिकमान्डु