महासंघको वरिष्ठ उपाध्यक्ष बन्न ४ जनाको आकांक्षा, चन्द्र ढकालको समर्थन कसलाई ?



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । चैत अन्तिमदेखि मूल नेतृत्व अर्थात् अध्यक्षमा विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुँदैछन् ।

अर्को कार्यकालका लागि स्वत: अध्यक्ष बन्न वरिष्ठ उपाध्यक्षमा भने रोचक भिडन्त हुने भएको छ । अहिलेका तीनवटै उपाध्यक्षहरु (अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाई) वरिष्ठ उपाध्यक्षको आकांक्षी देखिएका छन् भने वस्तुगत उपाध्यक्षमा चुनाव हारेका उमेशलाल श्रेष्ठ पनि बरिष्ठ उपाध्यक्षका आकांक्षी देखिएका छन् ।

उमेशलाल श्रेष्ठले दुई महिनाअघि नै सम्पर्क कार्यालय स्थापना गरेर चुनावी अभियान थालिसकेका छन् । आफूलाई चण्डीराज ढकाल लगायतको समर्थन रहेको दाबी गर्दै आएका उनी जिल्ला नगरको भ्रमणमा निकै व्यस्त छन् ।

‘छिट्टै टिम घोषणा गर्दैछु, दिनेश श्रेष्ठजीले पनि मलाई समर्थन गर्ने कुरा भइरहेको छ,’ उनले भने ।

त्यसैगरी, वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षमा चुनाव उठ्ने घोषणा गर्दै देश दौडाहमा व्यस्त छन् । श्रेष्ठले अहिले टिम तयार पारिरहेका छन् ।

यसअघि नै एशोसिएट उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भरत आचार्यलाई आफ्नो टिममा ल्याउन श्रेष्ठले ठूलो प्रयास गरेका थिए । तर, आचार्य कुनै पनि प्यानलमा खुल्न नचाहेपछि श्रेष्ठले ज्योत्स्ना श्रेष्ठलाई एशोसिएट उपाध्यक्षको उम्मेद्वार बनाएका छन् ।

उद्योगी शाहिल अग्रवालले एशोसिएट उपाध्यक्षमा नउठ्ने बताएपछि श्रेष्ठले ज्योत्स्नालाई अघि बढाएका हुन् । त्यसैगरी, जिल्ला नगरमा अरुण सुमार्गी र वस्तुगतमा मनिषलाल प्रधानलाई श्रेष्ठले आफ्नो टिमको उपाध्यक्ष बनाएका छन् । उनले औपचारिक टिम भने घोषणा गरिसकेका छैनन् ।

एशोसिएटमा सबैभन्दा धेरै मत शाहिल अग्रवालको छ । त्यस्तै, शेखर गोल्छा, पशुपति मुरारका, चन्द्र ढकाल, रामचन्द्र संघई, अन्जन श्रेष्ठ, ज्ञानेन्द्रलाल प्रधानसँग ठूलो मत छ ।

‘मैले महासंघ हाँक्ने टिम बनाइसकेको छु,’ श्रेष्ठले भने, ‘हामीसँग महासंघलाई कसरी अघि बढाउने भन्ने प्रष्ट भिजन छ, यो पटक हाम्रो पूरै टिमले जित्नेमा म पूर्णरुपमा विश्वस्त छु ।’

अध्यक्ष चन्द्र ढकाललाई पूर्णरुपमा सफल बनाएर महाससंघलाई बलियो बनाउन भूमिका खेल्ने टिम आफूले तयार पारेको श्रेष्ठको दाबी छ ।

‘चैत २९ गतेदेखि चन्द्रजी महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ, उहाँको नेतृत्वलाई पूर्णरुपमा सफल बनाउन मैले स्मार्ट टिम तयार पारेको छु,’ श्रेष्ठले भने ।

त्यस्तै, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षमा चुनाव उठ्ने भन्दै देश दौडाहमा लागेका छन् । यद्यपि उनीहरुले आफ्नो टिम बनाउन सकेका छैनन् ।

संघईले एशोसिएट उपाध्यक्षमा भरत आचार्य आफ्नो टिमको भएको दाबी गर्दै आए पनि आचार्य भने खुलेका छैनन् । अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका निकट मानिने आचार्य ढकालकै रणनीति अनुसार नखुलेका हुन् ।

‘म वरिष्ठ उपाध्यक्षमा उठ्ने पक्का हो,’ संघईले भने, ‘त्यसको सम्पूर्ण तयारी गरिसकेको छु, यसअघिको निर्वाचनमा जसरी मलाई कसैले पत्याएका थिएनन्, तर परिणाम मैले हात पारेँ, यो पटक पनि त्यस्तै परिणाम हात पर्नेमा म विश्वस्त छु ।’

एनआइसी एशिया बैंकका सञ्चालकसमेत रहेका संघई आफ्नो भूमिका बिर्सेर महासंघको चुनावकै लागि बैंक विरुद्धकै आन्दोलनमा सडकमै उत्रिएका थिए । राष्ट्र बैंकका अधिकारीहरुले बैंकको सञ्चालक हुँदाहुँदै बैंक र राष्ट्र बैंकविरुद्धमा सडकमा उत्रिएको विषयलाई लिएर संघईलाई प्रष्टीकरणसमेत सोधिसकेको छ । संघईलाई बैंकविरुद्धको आन्दोलन गर्ने भए बैंकको सञ्चालकबाट राजीनामा दिएर आउन राष्ट्र बैंकले सुझाव दिएको थियो ।

यसअघि चन्द्र ढकालको टिमबाट उपाध्यक्ष जितेकाले अहिले पनि आफूलाई ढकालको समर्थन रहने उनको दाबी छ । तर, अञ्जन र उमेशलाले पनि आफूलाई चन्द्र ढकालको समर्थन भएको दाबी गर्दै आएका छन् ।

जिल्ला नगरको मत पाइने आशामा बैंकविरुद्धको आन्दोलन चर्काएर लोकप्रिय बन्न खोजेका दिनेश श्रेष्ठले आफ्नो टिममा राख्नका लागि उपाध्यक्षका उम्मेद्वार नै भट्टाएका छैनन् । श्रेष्ठले उमेशलालाई वरिष्ठ उपाध्यक्षमा छोडेर फेरि जिल्ला नगरकै उपाध्यक्षमा चुनाव उठ्ने चर्चा पनि छ । तर, उनी भने आफू वरिष्ठ उपाध्यक्षकै उम्मेद्वार रहेको दाबी गर्छन् ।

‘म वरिष्ठ उपाध्यक्षमै उठ्ने हो,’ श्रेष्ठले भने, ‘टिम बनाउनका लागि साथीहरुसँग सल्लाह गरिरहेको छु ।’

यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफू स्वत: अध्यक्ष हुने निश्चित हुँदाहुँदै पनि वरिष्ठ उपाध्यक्षसहित सम्पूर्ण कार्यसमितिकै प्यानल बनाएर आफ्नो टिमलाई जिताउन भन्दै देशब्यापीरुपमा भोट माग्दै हिँडेका थिए । गोल्छाले वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, वस्तुगतमा अञ्जन श्रेष्ठ, एशोसिएटमा सौरभ ज्योति र जिल्ला नगरमा दिनेश श्रेष्ठ आफ्नो टिमको उम्मेद्वार रहेको भन्दै भोट माग्दै हिँडेका थिए ।

विधानअनुसार स्वत: अध्यक्ष बन्नेले नै कुनै एउटा समूहलाई आफ्नो टिम भएको भन्दै हिँड्नु गुटबन्दीको चरम नमुना भएको भन्दै ब्यापक आलोचना भएको थियो । गोल्छाले आफ्नो मर्यादा बिर्सेर तटस्थ नबसी गुटको नेतृत्व गरेको आरोप लाग्ने गरेको छ।

तर, विधानअनुसार स्वत: अध्यक्ष बन्दै गरेका चन्द्र ढकालले भने गुटबन्दी गरेर शेखर गोल्छाले गरेको गल्ती आफूले नदोहोर्‍याउने बताउँदै आएका छन् ।

‘म विधानअनुसार स्वत: अध्यक्ष हुँदैछु, अध्यक्ष भइसकेको व्यक्तिले गुटबन्दी गर्नु हुँदैन, तपाईंहरु आफ्नो ढंगले चुनाव उठ्नुहोस्, जसले जित्नुहुन्छ त्यही मेरो टिम हो,’ उम्मेद्वारहरुसँग ढकालले भन्ने गरेका छन्, ‘म शेखरजीले जस्तो फलानो मेरो टिम हो भनेर गुटबन्दी गर्ने पक्षमा छैन । सबैलाई मिलाएर अघि बढ्छु ।’

ढकालले भोट जसलाई हाले पनि कसैको पक्षमा नखुल्ने प्रष्ट अडान राख्दै आएका छन् । ढकालको समर्थन पाउन वरिष्ठ उपाध्यक्षका सबै प्रत्यासीहरु उनीसँग निकट हुने प्रयास गरिरहेका छन् । र, सबै उम्मेद्वार आफूले ढकालको समर्थन पाउने आशामा छन् । ढकालले भने कसैलाई पनि बचन दिइसकेका छैनन् ।

व्यवसायका दृष्टिकोणले हेर्दा वरिष्ठ उपाध्यक्षका प्रत्यासीमध्ये रामचन्द्र संघई सबैभन्दा ठूला वास्तविक उद्योगी तथा व्यवसायी हुन् भने अञ्जन श्रेष्ठ दोस्रो ठूलो उद्योगी तथा व्यवसायी हुन् । उनीहरुको तुलनामा उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठ सामान्य व्यवसायी मात्रै हुन् ।

महासंघजस्तो ठूलो प्लेटफर्ममा साना व्यवसायीलाई पुग्न अलि कठिन नै छ भन्ने कुरा किशोर प्रधानकै उदाहारण हेरे पुग्छ । अघिल्लोपटक शेखर गोल्छासँग र गत चुनावमा चन्द्र ढकालसँग प्रधानले वरिष्ठ उपाध्यक्षमा चुनाव हारेका थिए ।


क्लिकमान्डु