बादलभित्र विमान छिराएको भन्दै पाइलट र को-पाइलट निलम्बित



फाइल तस्बिर

काठमाडौं । बालदभित्र विमान छिराएको भन्दै नागरिक उड्डयन प्राधिकरणले समिट एयरलाइन्सका पाइलट र को-पाइलटलाई निलम्बन गरेको छ ।

प्राधिकरणले भिजुअल फ्लाइट रुल भीएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) उडानमा बादलभित्र विमान छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो ।

‘दृश्यात्मक उडान (भीएफआर) मा बादलभित्र उडान गर्ने २ जना वायुयान चालकलाई प्राधिकरणले अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरी थप छानविन प्रक्रिया अघि बढाएको छ’ प्राधिकरणले भनेको छ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको विमान दुर्घटना हुनुभन्दा एक मिनेट अघि सोही रुटबाट उडान भरेको समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । यद्दपी समिट एयरले भने सुरक्षित रुपमा अवतरण गरेको थियो ।

तारा एयरको दुर्घटनापछि बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुमाथि कारबाही गरिएको हो ।

समिट एयरले त्यतिबेला सुरक्षित अवतरण गरेको भए पनि त्यसलाई सही मान्न नसकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । बादलभित्र छिर्दा अगाडिको दृश्य नदेखिँदा जोखिम हुने हुँदा त्यस्तो उडान गर्न नमिल्ने व्यवस्था छ ।


क्लिकमान्डु