राजनीतिक समस्या समाधान गर्न रातारात बैठक बस्ने दलहरुले अर्थतन्त्रका समस्या समाधानमा तत्परता देखाएनन्: उद्योग संगठन मोरङ
विराटनगर । उद्योग संगठन मोरङले अर्थतन्त्रमा देखा परेको समस्यालाई जटिललतातिर उन्मुख हुनबाट रोक्न पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
लामो समयदेखि मुलुकको अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको मन्दीले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको संगठनका अध्यक्ष सुयस प्याकुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमी आएको, बाँकी वक्यौता उठ्न नसकेको तथा उद्योगी व्यवसायीलाई वित्तीय व्यवस्थापनमा कठिनाइ भई आफ्ना कलकारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समग्र अर्थतन्त्रका सूचकांकहरु लगातार ऋणात्मक भइरहँदा एवं निजी क्षेत्रले उद्योग व्यवसाय क्षेत्रमा गरेको ठूलो लगानी जोखिम उन्मुख भइरहँदा समेत सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा भन्दा पनि बढी राजनीतिक विषयमा मात्रै केन्द्रित हुनु दुःखद् भएको संगठनको भनाइ छ ।
उपयुक्त विधि, नीति तथा प्रकृयाबाट अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन अहोरात्र काम गर्नुपर्ने यस क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने अर्थ तथा उद्योग मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा राखिनुले उद्योगी व्यवसायीका समस्या एवं समग्र अर्थतन्त्रको समस्याप्रति सरकार संवेदनशील नभएको प्रष्ट हुने विज्ञप्तिमा भनिएको छ ।
‘विगतको सक्रमणकालिन अवस्थापश्चात भएको राजनीतिक व्यवस्थापनसँगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेण्डा तय भई अर्थतन्त्रले गतिलिने उद्योगी व्यवसायी र आमसर्वसाधारणको चाहनाको सम्बोधनमा नेतृत्व वर्गले सदैव नजरअन्दाज गरिँदा सबैलाई चिन्तित बनाएको छ’ संगठनले भनेको छ, ‘राजनीतिक प्रकृतिका समस्याहरुको समाधानमा रातोरात बैठक छलफल गरी सहमति जुटाउने र निकास निकाल्ने उच्च राजनीतिक नेतृत्वले अर्थतन्त्रका विद्यमान चुनौतीहरुलाई सम्बोधन गर्न समेत यही प्रकृतिको तत्परताका साथ सामाधन खोज्न संगठनले हार्दिक अपिल छ ।’
राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यर्थाथलाई आत्मसात गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान भयावह स्थितिलाई नजरअन्दाज नगर्न तथा समग्र अर्थतन्त्र शिथिल भएको यो यथार्थलाई गम्भिरतापूर्वक लिन संगठनले आग्रह गरेको छ ।
तरलता अभाव, ब्याजदर वृद्धि, बजार मागमा कमी मात्र होइन अन्तर्राष्ट्रियस्तरमा भएको मूल्य बृद्धि, कच्चा पदार्थ एवं इन्धनको मूल्य वृद्धिको चापसमेत प्रत्यक्षरुपमा उत्पादन लागतमा परेको कारणले अहिलेको यो समस्याको प्रकृति जटिल भएको संगठनको भनाइ छ ।
सामान्य प्रकृतिको टालटुले समाधानले अहिलेको आर्थिक समस्याबाट निकास नदिने भन्दै संगठनले यसको दिगो समाधानका लागि निजी क्षेत्रलाई समेत साथमा लिई यथाशक्य उचित कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।