माघमा १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, ७ महिनामा ६ खर्ब ८९ अर्ब



काठमाडौं । माघमा मात्रै १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको ७ महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

गत वर्षको ७ महिनाको तुलनामा यो रकम २७.१ प्रतिशत बढी हो । गत वर्षको पुससम्म ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको थियो ।

सात महिनामा ५ अर्ब ३० करोड अमेरिकी डलर रेमिट्यान्सको रुपमा आएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या उच्च दरले बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव परेको छ । माघमा ६८ हजारभन्दा बढी मानिस वैदेशिक रोजगारीमा गएका थिए ।

राष्ट्र बैंकको तथ्यांकले माघमा महँगी बढेको देखाएको छ । माघसम्मको तथ्यांकअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ ।

मुद्रास्फीति गत वर्षको माघको तुलनामा १.६४ प्रतिशत धेरै हो । गत वर्ष माघमा मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो । पुसमा भन्दा पनि माघमा महँगी बढेको हो । पुस मसान्तसम्म मुद्रास्फीति ७.२६ प्रतिशत कायम थियो ।

माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ । त्यस्तै काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति छ ।


क्लिकमान्डु