गौतमबुद्ध विमानस्थल: ठेकेदारले काम नगर्दा आन्तरिक टर्मिनलको रिनोभेसन अलपत्र



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको रिनोभेसनको काम अलपत्र परेको छ । ठेक्का पाएको निर्माण कम्पनीले समयमा काम नगर्दा रिनोभेसनको काम अलपत्र परेको छ ।

नागरिक उड्डयन प्राधिकरणले ठेक्का पाएको भुसाल/बस्नेत जेभीले १८ महिनामा गरिसक्नुपर्ने काम सुचारु नै नगरेको जनाएको छ ।

ठेक्का सम्झौताअनुसार १८ महिनामा सम्पन्न भइसक्नुपर्ने काम नभएको र निर्माण कार्य सुचारु गर्न पटक पटक पत्राचार गर्दासमेत सुरु हुन नसकेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेर निर्माण भएको विमानस्थलमा प्राधिकरणले आन्तरिक टर्मिनल भवनको रिनोभेसन तथा अन्य सम्बन्धित कामहरुका लागि गत वर्ष साउन ८ मा भुसाल/बस्नेत जेभीलाई ठेक्का दिएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार करिब ३ करोडका लागतमा यो ठेक्का लगाइएको थियो ।

तर, तोकिएको समयमा काम सम्मन्न नभएपछि हाल कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्न लागिएको निरौलाले जानकारी दिए ।

‘काम सुरु भएको हो, तर काम सम्पन्न भएको छैन’, निरौलाले भने, ‘काम तोकिएको मितिमा सम्पन्न भएन । एकदमै ढिलासुस्तीमा काम भयो । हामीले पटक पटक उनीहरुलाई ताकेता गर्ने, पत्र लेख्ने हुँदा पनि काम भएन । ’

पटक पटक पत्रचार गर्दा पनि काम नभएका कारण अन्तिम पटक सूचना निकाल्दै काम सम्पन्न गर्न र सो नगरिएमा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने गरि सूचना निकालिएको निरौलाले बताए ।

१८ महिनाको म्याद राखेर ठेक्का सम्झौता भएको उक्त कार्यको समयावधीलाई आगामी असारसम्म लम्ब्याउन लागिएको छ । निरौलाले भने, ‘कामलाई कन्टिन्युटीमा राख्नुपर्ने हुन्छ । त्यसैले आगामी असारसम्मलाई म्याद थप्न लागेका छौं ।’


क्लिकमान्डु