सहकारीले कर्जा सुरक्षण प्रणाली विकास नगर्ने हो भने भयावह हुन्छ: पूर्व अर्थसचिव ढुंगाना



काठमाडौं । पूर्व अर्थसचिव शिशिर ढुंगानाले सहकारीले कर्जा सुरक्षण प्रणाली विकास नगर्ने हो भने आगामी दिनमा सहकारीको अवस्था भयावह हुनसक्ने बताएका छन् । ढुंगानाले कर्जा सुरक्षण प्रणाली नेफ्स्कुन वा अन्य कुनै निकायले अग्रसरता लिएर निर्माण गर्न आग्रह गरे ।

सहकारीले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गरेको खास योगदान तथ्यांकमा भेट्न समस्या भएको उनको भनाइ छ । ढुगानाले अहिले आफ्नो उत्पादन भएका मुलुकलाई डर नभएको र आफ्नो उत्पादन नभएको देशलाई सकस रहेको भन्दै यसमा सहकारीले ध्यान दिन आग्रह गरे ।

उनले आगामी दिनमा साना तथा घरेलु उद्योगलाई झन् समस्या हुने बताए । नेफ्स्कुनले आयोजना गरेको सीईओ सम्मेलनमा ढुंगानाले सहकारीलाई नयाँ स्टार्टअपमा लगानी बढाउन सुझाव दिए ।

अहिले सहकारीले बचतका लागि गैरव्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हो भने भोलिका दिनमा अवस्था जटिल बन्दै जाने उनको ठोकुवा छ । ‘अहिले राज्यको आय घट्ने र सामाजिक सुरक्षामा जाने रकम बढ्ने भइरहेको छ,’ उनले भने, ‘सबैतिरबाट चेपुवामा परेको अर्थतन्त्रमा असर सहकारीमा पनि पर्नेछ ।’

कृषिमा मौसमी असर परेको र त्यसले उत्पादन थप प्रभावित हुने उनको भनाइ छ । अब सहकारीमा बचत कम उठ्ने र त्यसको असर कर्जा लगानीमा पर्ने ढुंगानाले बताए । सहकारीमा भएको कोषको दायरा बढाउन उनले आग्रह गरे ।

अहिले बचत फिर्ताका लागि दबबा बढेका कारण संस्थाको ब्रान्ड कायम राख्न समस्या भएको उनको भनाइ छ ।


क्लिकमान्डु