नयाँ अर्थमन्त्रीले अप्रिय र बोल्ड निर्णय गर्नुपर्छ: स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा वाग्लेले अर्थतन्त्रको संरचनागत सुधार सजिलो नभएको भन्दै आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था रहेको बताए । खर्च र आम्दानीको खाडल पुर्न सरकारले अप्रिय निर्णय गर्नुपर्ने उनी बताउँछन् ।
‘अब आगामी नयाँ अर्थमन्त्री आएपछि अर्थतन्त्रका नीतिहरुमा अप्रिय र बोल्ड निर्णय गर्नुपर्ने बिन्दुमा आइसकेका छौं’ उनले भने।
अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अब टालटुले नभएर निर्मम भएर जानुपर्ने अवस्था आएको उनको भनाइ छ ।
सरकारले अर्थतन्त्रको संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जाने भएको भन्दै आगामी सरकारले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुपर्ने वाग्लेले बताए ।
अहिले सामाजिक सुरक्षामा सरकारको दायित्व बढ्दै गएको तथा सार्वजनिक खर्च बढेको तर सरकारी राजस्व न्यून देखिँदा खर्च कटौतीमा सरकार निर्मम हुनुपर्ने उनले बताए ।
डा. वाग्लले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । सुशासनका मुद्दामा सरकार गम्भीर नहुँदा अर्थतन्त्रको आन्तरिक सुधार हुन नसकेको उनको भनाइ थियो ।
विदेशी मुद्रा सञ्चिति बढाउन विप्रेषण बाहेकका वैकल्पिक स्रोत खोज्नुपर्ने वाग्लेको भनाइ छ । अर्थविद् वाग्लेले सार्वजनिक ऋणको साँवा ब्याज तिर्न ठूलो रकम खर्च भइरहेको तथा सरकार र निजी क्षेत्रबाट समेत परिचालन भएको ऋणको तुलनामा आर्थिक वृद्धिदर निकै न्यून देखिनु चिन्ताजनक रहेको बताए ।