बैंकका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन सबै सीडीओलाई गृह मन्त्रालयको परिपत्र



काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन मातहतका निकायलाई परिपत्र गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई लक्षित गरी अराजक गतिविधि हुन थालेपछि गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायलाई चनाखो रहन शुक्रबार परिपत्र गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई लक्षित गरी केही स्थानमा केही व्यक्तिले अवाञ्छित गतिविधि गरेको नोटिसमा आएकाले जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा संयन्त्रलाई अलर्ट रहन निर्देशन गरेका हौं,’ गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले क्लिकमान्डुसँग भने, ‘बैंक तथा वित्तीय संस्थासहित सहकारीमा देखिएका अराजक र उच्छृंखल गतिविधि हुन तथा गर्न नदिन र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन भनिएको छ ।’

विवादित व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन चर्काएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रासमा छन् ।

केन्द्रीय बैंकको नीतिले ब्याजदर बढेको र त्यसले उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना गरेको भन्दै देशका विभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन भइरहेका छन् । प्रदर्शन चर्किन थालेपछि राष्ट्र बैंकका कर्मचारीले गाडीमा लगाएको स्टिकर नै हटाउन थालेका छन् ।

प्रदर्शनकारीले गाडीमा आक्रमण गर्न सक्ने डरले राष्ट्र बैंकका कर्मचारीले रातो स्टिकर हटाएका हुन् । ‘जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेपछि उनीहरुले असुरक्षित महसुस गरेका छन् ।

जाजरकोट घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले गृह सचिव विनोद सिंहलाई भेटेर सुरक्षा दिन माग गरेका थिए । त्यसपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई बैंकका कर्मचारीको सुरक्षामा गम्भीर रहन लिखित निर्देशन दिएको हो ।


क्लिकमान्डु