बैंकविरुद्ध आन्दोलन चर्किएपछि कर्मचारीले हटाउन थाले गाडीको स्टिकर



काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन चर्काएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रासमा छन् ।

केन्द्रीय बैंकको नीतिले ब्याजदर बढेको र त्यसले उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना गरेको भन्दै देशका बिभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किन थालेपछि राष्ट्र बैंकका कर्मचारीले गाडीमा लगाएको स्टिकर हटाउन थालेका हुन्।

केन्द्रीय बैंकका कर्मचारीले रातो नम्बर प्लेटको गाडीमा नेपाल राष्ट्र बैंकको स्टिकर लगाएर चढ्ने गर्छन्।

आन्दोलनकारीले स्टिकर सहितको गाडीमा आक्रमण गर्न सक्ने डरले राष्ट्र बैंकका कर्मचारीहरुले त्यसलाई हटाएका हुन् ।

‘जाजरकोटमा लघु वित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेपछि हामीले पनि असुरक्षित महसुस गर्यौं,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने,‘राष्ट्र बैंकको स्टिकर लगाएको गाडीमा चढ्दा समस्या हुन्छ कि भनेर मैले स्टिकर हटाउन लगाएको हुँ।’

राष्ट्र बैंकका कर्मचारी मात्रै नभई नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीले समेत गाडीमा लगाएको स्टिकर हटाएका छन् ।

जाजरकोट घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले गृह सचिव विनोद सिंहलाई भेटेर सुरक्षा दिन माग गरेका थिए ।


क्लिकमान्डु