वायुसेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् ।

पाइलटद्वय भावना पन्त र को-पाइलट सिर्जना राउतको टोलीले आज काठमाडौँ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

‘पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो,’ उनले भने, ‘आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ तर अन्तर्राष्ट्रियमा यो नै  पहिलो हो ।’

निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका हुन् ।

उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्य महिला हुने जनाइएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार जना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन् ।


क्लिकमान्डु