ओरेन्टलका ७ सय ७७ जनाले पैसा फिर्ता पाउँदै



काठमाडौं । ओरेन्टल को-अपरेटिभबाट ठगिएकामध्ये ७ सय ७७ जनाले पैसा पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टलमा १ लाख रुपैयाँभन्दा कम बचत गर्ने ७ सय ७७ जनालाई पैसा फिर्ता गर्ने भएको हो ।

कार्यालयले ओरेन्टलबाट कर्जा लिनेहरुबाट २ करोड ५० रुपैयाँ उठाएको छ । विभिन्न ऋणीबाट असुलउपर गरेको उक्त रकम साना बचतकर्तालाई फिर्ता गर्न लागिएको सदस्य-सचित केशवप्रसाद पौडेलले जानकारी दिए ।

कार्यालयले मंसिर ९ गते सम्पत्ति अद्यावधिक गर्न भन्दै सूचना जारी गरेको थियो । अहिले मागदाबी अद्यावधिक भइरहेको छ । ‘हामीले विभिन्न ऋणीबाट उक्त रकम उठाएका छौं,’ पौडेलले भने, ‘त्यो पैसा १ लाखभन्दा कम बचत हुने साना बचतकर्तामध्ये ७ सय ७७ जनालाई प्रदान गर्ने चरणमा समितिको कार्यालय पुगेको छ ।’

उनका अनुसार १ लाखभन्दा कम बचत गर्नेले पैसा फिर्ता पाएपछि अरुको फिर्ता गर्न त्यसपछि प्रक्रिया सुरु हुनेछ ।

ओरेन्टलका सञ्चालक अदालती प्रक्रियामा जाँदा पीडितले पैसा पाउन ढिलाइ भइरहेको छ । ओरेन्टललाई पहिलो पटक २०७४ कात्तिक २० गते सरकारले समस्याग्रस्त घोषणा गरेको थियो । सरकारले समस्याग्रस्त घोषणा गरेपछि सहकारीका सञ्चालक अदालत गएका थिए ।

सर्वोच्च अदालतले २०७६ फागुन ११ गते समितिको कार्यालयले ओरेन्टलको काम-कारबाही नहेर्नु भनेर निर्णय गर्‍यो । पछि पुनः २०७९ असोज ७ गते सरकारले समस्याग्रस्त घोषणा गर्‍यो ।

त्यसपछि सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्पत्ति र ऋणी खोजी कार्य अघि बढाएको थियो । ओरेन्टलले ठगेको भन्दै ७ हजार ६ सय ४६ जनाले मागदाबी गरेका छन् भने २१ करोड ८४ लाख दायित्व देखिएको छ ।


क्लिकमान्डु