विराटनगरमा मापदण्डविपरीतका संरचना हटाउने अभियान तीव्र



विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले सडक मापदण्डमा परेका संरचनाहरु डोजर लगाएर हटाएको हो ।

सडक मापदण्डमा परेका संरचना हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रस्ट पारे ।

संरचना नहटाउँदा महानगरका विभिन्न साँघुरा सडकहरुको विस्तार अलपत्र परेको थियो । केही दिनअघि बसपार्क दक्षिण–पूर्वमा अवस्थित सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचना हटाएको छ ।

स्थानीय विनोद रिजालको स्वामित्वमा रहेको गोदाम घर, पर्खाल तथा वडा १ को कार्यालयको पर्खाल, खानेपानी कार्यालयलगायतका संरचना हटाएको छ ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले वडा सदस्य मोहनकर्ण कार्कीको उपस्थितिमा घर, पर्खाल, गोदामलगायतका संरचनामा डोजर लगाएको हो ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने महानगरका मेयर नागेश कोइरालाले बताउँदै आएका छन् ।

उनले सडक मापदण्डमा परेका संरचना हटाएर विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीसित आग्रहसमेत गरेका छन् ।

‘विराटनगरलाई अब यथास्थितिमा राख्न सकिँदैन,’ कोइरालाले भने, ‘विश्वका जुनसुकै विकसित र आधुनिक सहर भत्काएर बनाएका हुन् ।’

यस्तै महानगरको टोलीले हाटखोला चोकदेखि पुलसम्मको सडक मापदण्डमा परेका संरचनासहित आसपासका टहरासमेत हटाएको छ ।

महानगरको सौन्दर्यतामा ह्रास आउने गरी निर्माण गरिएका हटरा हटाउन धेरै पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगर आफैंले हटाउनु परेको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए ।

उनले महानगरलाई सफा बनाउन आफ्नो टोली लागिपरेको सुनाए । सरसफाई र महानगरको सुन्दरताप्रति स्थानीयसमेत जागरुक भएको दाहालको भनाइ छ ।

सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरिएका सबै झुप्राहरु हटाउने महानगरको योजना छ ।

यसैबीच, विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउँदा स्थानीयले ताली बजाएर महानगरको समर्थन गरेका छन् । महानगरले विराटनगरलाई सफा र सुन्दर बनाउने अभियान सञ्चालन गरेकोप्रति स्थानीयसमेत खुसी देखिएका छन् ।

‘एक–दुईजना व्यक्तिका कारण सिंगो समाजलाई नै समस्या भएको थियो,’ स्थानीय हेमन्त बस्नेतले भने, ‘तर महानगरले जुन आँट गरेर वर्षौंदेखि भत्काउन नसकेका संरचना भत्काएको छ । यो कार्य अत्यन्तै राम्रो हो । यसमा महानगरलाई विराटनगरवासी सबैले साथ दिनुपर्छ ।’

बस्नेतले महानगरको अभियानलाई १९ वटै वडामा सञ्चालन गर्नुपर्नेमा जोड दिए । महानगरले डोजर चलाएर सडक मापदण्डमा परेका संरचना हटाउँदा हाटखोलामा भेटिएका प्रकाश कार्कीले त ताली नै बजाए । उनले भने, ‘अब चाहिं विराटनगर बल्ल महानगरजस्तो हुने भयो ।’


क्लिकमान्डु