जीवन बीमा व्यवसायको नाफा ८६% ले घट्यो



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले पाँच महिनापछि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायबाट हुने आय बढाएको र जीवनको घटेको जनाएको छ ।

कम्पनीका अनुसार गत आवको पहिलो त्रैमासमा निर्जीवनतर्फ १६ करोड ४९ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा १७ करोड ८४ लाख २२ हजार रुपैयाँ नाफा पुगेको छ ।

यता जीवन बीमातर्फ भने घटेको छ । गत आवको पहिलो त्रैमासमा जीवन बीमातर्फ ७ करोड ५० लाख ८७ हजार रुपैयाँ नाफ आर्जन गरेकामा चालु आवको सोही अवधिमा आइपुग्दा १ करोड ५ लाख ८ हजार रुपैयाँमा सीमित बनेको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट ८५ कोड ८६ लाख ९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तै जीवन बीमा तर्फ ५७ करोड ६६ लाख ७ हजार रुपैयाँ रहेको छ ।

११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको निर्जीवन तर्फको जगेडा कोषमा ५ अर्ब ३९ करोड ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ । बीमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३४ पैसा रहेको छ ।


क्लिकमान्डु