गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्।

शुक्रबार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका हुन् ।

आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडी बढ्ने थापाले बताए ।

राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे ।

महामन्त्री थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताए ।

‘अहिले भर्खर म समाचार पढ्दै थिएँ । हामी लोसपाको कार्यालयमा गयौँ, लोसपा हामीलाई मत दिन यो त हाम्रो क्याम्पसको चुनावमा पनि हुँदैनथ्यो । त्यहाँ पनि हामी अलिकति निर्वाचनको मर्यादा राख्थ्यौँ । नेकपा एसको कार्यालयमा आयो, नेकपा एस हामीलाई चुनावमा मतदान दिन सकारात्मक भएको छ, लोसपाको कार्यालयमा गयो लोसपा सकारात्मक भएको छ । यो तहसम्म साथीहरु आएर निर्वाचनको बेलामा यसलाई अल्मल्याउने कोशिस गरिराख्नुभएको छ’ उनले भने, ‘ फागुन २५ गतेपछि नेपाली काँग्रेसको नेतृत्वमा फेरि सरकार बन्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको स्पष्ट पारे । दाहाललाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भए पनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उनको भनाइ छ ।


क्लिकमान्डु