अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट



काठमाडौं । नेपाली चियाले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण, रजत र कास्य पदक जितेको छ ।

चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सम्बन्धी दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० चिया उत्पादक संस्थाले अवार्ड जितेका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गरि नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चिया विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको जानकारी दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले नेपाली चियाको चिनियाँ बजार राम्रो रहेको बताए । बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनको लागि पहल गरिरहेको उनको भनाइ थियो ।

चीनमा नेपाली चियाको अनलाइन विज्ञापन शुरु भइसकेको उनले बताए । भट्टराईले अवार्ड जितेसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महत्वपूर्ण मानिने उल्लेख गरे ।

गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको उनको भनाइ छ ।

पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोग विना चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको बताए ।

उनले आफूहरुले किसानको आयमा वृद्धि गरी मुलुकमा विदेशी मुद्रा आर्जनको लागि महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाली चिया उत्पादनलाई सरकारले उद्योगको रुपमा विकास गर्ने गरी नीति नियमन बनाउन आवश्यक रहेको खनालको भनाइ छ ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन, भारत, केन्या, श्रीलंका जस्ता देशहरुसँग नेपाली चियाको प्रतिष्पर्धा गराइएको थियो । अवार्ड परिणामस्वरुप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाकाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले स्वर्ण पदक पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन,जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चिया अवार्ड विजेता भएका हुन् ।

नेपालको झापा, इलाम,पाँचथर,धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रुपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा चिया खेती भएर त्यसबाट २३,७४५ मेट्रिकटन उत्पादन भइरहेको छ । नेपालमा १७ हजार चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आवद्ध रहेको बोर्डले जनाएको छ ।


क्लिकमान्डु