माधव नेपाललाई भेट्न पुगे नेम्वाङसहितका एमाले नेता, के भयो कुराकानी ?



काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवास नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबाबार राष्ट्रपतिमा आफूलाई सहयोग गर्न भन्दै अध्यक्ष नेपालसँग भेट गरेका हुन् ।

उनीसँगै भेटमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल सहभागी भएका थिए ।

एकीकृत समाजवादीबाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी थिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै आठ दलको समर्थनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल र एमाले उम्मेदवार नेम्वाङ राष्ट्रपतिमा सहयोग माग गर्दै भेटघाटमा व्यस्त बनेका हुन् ।

एकीकृत समाजवादीले भने बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई सघाउने निर्णय गरिसकेको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा आफूहरुलाई सहयोग गर्न आग्रह गरेक जानकारी दिए ।

उनले पार्टी अध्यक्ष नेपालले मत माग्न आएकोमा धन्यवाद ज्ञापन गरेको बताए । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको बताए ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरुले पार्टीबाट उम्मेदवार बनेका नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गरे ।

उनले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताए । उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको दाबी गरे ।


क्लिकमान्डु