धरान एक्स्पो: भिजिटर नआएको स्टल धनीहरुको गुनासो, आयोजक भन्छन्- सोचेभन्दा राम्रो भइरहेको छ



इटहरी । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्पो २०७९ मा सोचे जस्तो व्यापार नभएको गुनासो स्टल धनीहरुले गरेका छन्।

पहिला आयोजना हुने एक्स्पोहरु भन्दा फरक ढंगले आयोजना गरेको आयोजकले दाबी गरे पनि बजारमा प्रवेश शुल्क लिएको जस्ता अफवाहहरुले पर्यवेक्षकहरु सोचेअनुरुप नआएको एभरेस्ट नर्सरीबाट एक्स्पोमा आएका मिलन तामाङ बताउँछन् ।

धरान एक्स्पोमा पाकिस्तानमा निर्माण भएका छालाका उत्पादनदेखि बंगलादेशमा उत्पादन भएका गार्मेन्टका सामान साथै अर्गानिक उत्पादनहरु मह, बेसार, स्टेवरी, अल्लोका कपडा, तेह्रथुमे ढाकाका कपडा साथै ताप्लेजुङ पाँचथरबाट आएका बिभिन्न घरयासी उत्पादनहरु उपलब्ध छन् ।

स्वास्थ्यको समेत स्टल राखेको सुनसरी उद्योग वाणिज्य संघले डायटिसियन नै राखेर भिजिटरलाई आफूसँग भएको बोसोको मात्रा जाँच गरिदिने व्यवस्था समेत गरेको छ ।

एक्स्पोमा एलो कम्पनीको अचारका उत्पादन साथै किवीबाट बनेको जुस, अचार तथा वाइन र तीन पाने रक्सी समेत राखिएको छ।

धरान एक्स्पोले स्थानीय उत्पादनको प्रवद्र्धन समेत गर्ने र एक्स्पोको पाँचौ दिनसम्म आइपुग्दा सोचेभन्दा बढी पर्यवेक्षकहरु आइरहेको आयोजक सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि एवं स्टल व्यवस्थापन संयोजक विष्णु बराल बताउँछन् ।

पहिलोभन्दा फरक बनाउनका लागि धरान एक्स्पोमा होटलहरुको संख्या घटाएको र अरु बिभिन्न रैथाने उत्पादन र लोकल बजारमा भएको उत्पादनलाई समेटेर राखिएको बरालले बताए । उनले पाँचौ दिनसम्म आइपुग्दा सोचेभन्दा बढी भिजिटरहरु आइसकेको र अझै परिवेक्षकहरु थपिने दाबी गरे ।

धरानमा बुढासुव्वा गोल्डकप र एक्स्पो एकै साथ हुँदा दुवैतिर भिजिटरहरु आएको उनले बताए ।

धेरैभन्दा धेरै दर्शक बटुल्ने लक्ष्य लिएको सुनसरी उद्योग बाणिज्य संघले एक्स्पोमा आउन बिभिन्न स्थानबाट नि:शुल्क बस सेवा नै सन्चालन गरेको छ ।

टिकट महंगो भएको गुनासो आएपछि दिउँसो २ बजेसम्म प्रवेश नि:शुल्क गरिएको छ भने साँझ ५ बजेसम्म प्रतिव्यक्ति ५० रुपैँया र राष्ट्रिय स्तरको कलाकार आएको खण्डमा २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

फागुन ११ गतेबाट सञ्चालनमा आएको एक्स्पो फागुन २० गतेसम्म चल्ने छ । एक्स्पोमा १० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।


क्लिकमान्डु