विश्वासको मत लिएपछि मात्र सरकार विस्तार: उपसभापति खड्का



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्ने बताएका छन् ।

गृहजिल्ला सुर्खेत पुगेका खड्काले बुधबार पत्रकारसँग कुराकानी गर्दै फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताए ।

‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन’, खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई/तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ थियो ।

अहिले सरकारमा जानेबारे र को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइनसकेको खड्काको भनाइ थियो । गत पुस १० मा कमजोरी हुँदा नेकपा (एमाले) सहित सात दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको खड्काको भनाइ छ ।

उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोर्‍याए । यो कुरा आफूले २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र त्यसमा आफू अहिलेसम्म पनि अडिग रहेको उपसभापति खड्काको भनाइ छ ।


क्लिकमान्डु