पेट्रोलियम पदार्थको मूल्य नघट्ने




काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम प्रति लिटर पेट्रोलमा १.२१ रुपैयाँ, डिजेलमा ५.०५ रुपैयाँ, मट्टितेलमा ३.४० रुपैयाँ , हवाई इन्धनमा ७.०३ ले घटेको र एलपी ग्यासमा प्रति सिलिण्डर ३३९.०६ रूपैयाँ बढेर आएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य केही घट्ने क्रममा रहेको तथा एलपीग्यासको मूल्य उच्च दरले बढेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सहज राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमअनुसार एलपी ग्यासमा मात्र प्रति सिलिण्डर ६३५. ५० रुपैयाँ घाटा भई समग्रमा निगमलाई केही नाफा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आई रहेको अवस्था छ ।


निगमले ईण्डियन आयल कर्पोरेशनलाई हालसम्म भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिव १६ रुपैयाँ अर्ब तिर्न बाँकी रहेको अवस्थामा समेत निगमले पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ ।


क्लिकमान्डु